काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतलाई युद्ध मैदान बनाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै बारले कानुन व्यवसायीहरुमाथि गरिएको आक्रमणको तत्कालै छानबिन गरिनुपर्ने बताएको छ ।
अदालतमा प्रहरीको प्रवेश र कानुन व्यवसायीमाथि गरिएको आक्रमणलाई छानबिन नगरे अन्तराष्ट्रियकरण गर्ने पनि बारको चेतावनी छ ।
पत्रकार सम्मेलनमा बोल्दै बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले भने, ‘अदालत परिसरभित्र दंगा प्रहरीबाट घाइते गराउने काम र हतियारसहितको प्रहरी प्रवेश गराउने विषयको छानबिन भएन भने हामी यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने छौं। यसको सन्तोषजनक जवाफ आएन भने हामीले त्यसविरुद्ध जाने छौं। कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा हतियारसहितका प्रहरी परिचालन गर्ने विषयको औचित्य पुष्टि हुनुपर्छ ।’
कानुन व्यवसायीमाथि गरिएको आक्रमण नियोजित भएको भट्टराईको दाबी छ ।‘हामी शान्तिपूर्ण रुपमा आन्दोलनमा थियौं। हामीमाथी दंगा प्रहरी परिचालन गरियो। मूलद्वारमा हामी बसेपछि प्रधानन्यायाधीशले वैकल्पिक बाटो प्रयोग गर्नुभयो, त्यता जान खोज्दा हामीमाथि प्रहार भयो’, उनले भने।

वि.सं.२०७८ मंसिर २ बिहीवार १६:०३ मा प्रकाशित






























