काठमाडौं । सर्वोच्च अदालतको पूर्णं बैठक (फुलकोर्ट)ले गोला प्रथासम्बन्धी व्यवस्था पारित गरेको छ । बिहीबार बसेको फुलकोर्टले गोलाप्रथासहितको व्यवस्था भएको नियमावली तथा निर्देशिका पारित गरेको हो ।
गोलाप्रथाको व्यवस्था पारित भएसँगै झण्डै महिना दिनदेखि आन्दोलनमा उत्रिएका न्यायाधीशहरु अब इजलास फर्किने बताइएको छ । न्यायाधीशहरुले इजलासमा बहस गरेपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको मागलाई भने कायमै राख्ने जनाएका छन् ।
बिहीबार बसेको न्यायाधीशहरुको पूर्णं बैठक (फुलकोर्ट)मा भने प्रधानन्यायाधीश राणा सहभागी थिएनन् । सर्वोच्च १९ न्यायाधीश सहभागी बैठकले गोलाप्रथासहितको व्यवस्था भएको नियमावली तथा निर्देशिका पारित गरेको हो ।
पारित नियमावलाी तथा निर्देशिका मुख्य रजिष्टारमार्फत् प्रधानन्यायाधीश राणा समक्ष पठाइने छ। राणाले निर्णयमा हस्ताक्षर गरेपछि राजपत्रमा सूचना प्रकाशितका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने छ। जसपश्चात उक्त व्यवस्था लागु हुनेछ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १७:०७ मा प्रकाशित






























