काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले रुपान्तरणका लागि ७ बुँदा अघि सारेका छन् ।
आफ्ले भोगेका, बुझेका मान्यता र प्रतिबद्धताहरु भन्दै उनले संजालमाफ्तथ खादा माला र व्यक्ति पूजाप्रति पनि गम्भीर आपत्ति व्यक्त गरेका छन् ।
‘जोसुकै होस् व्यक्ति पूजा गरिदैन । कसैले नेतालाई देवता ठानेर पूजा गर्छ भने त्यसको दृढतापूर्वक विरोध गरिन्छ,’ बुँदा नं ६ मा नेता न्यौपानेले भनेका छन्,‘स्वयम् नेताले आफ्नो पूजा गरेको देखेर पनि नदेखे जस्तो गर्छ वा पूजा गरेको देखेर मख्ख पर्छ भने त्यस्तो नेतालाई आत्मस्वीकृतिको नेतृत्व मानिदैन ।’
यी हुन् नेता न्यौपानेका ६ बुँदे मान्यता र प्रतिबद्धताहरु
१) गरिब किसानको सन्तान हुनुको मर्म यही जगमै टेक्ने र राजनीति आन्दोलनमा संलग्न हुनुको अर्थ समाजको सकारात्मक रुपान्तरणमा सकेको योगदान गर्ने हो । फुर्ति लगाउने, शाषक बन्ने वा मैले फाडेको भनेर गुड्डी हाँक्ने होइन भन्ने दृढ बुझाइ छ ।
२) पदका लागि नेताको घर–घर नधाउने, कसैको पनि चाकरी नबजाउने, आफ्नो बखान आफैले नगर्ने, वा ज्यानै जाने गरि रुने कराउने नगर्ने हो । आफुले भनेनुसारको पद नपाउँदा बिद्रोह होइन कि विचार, सिद्धान्त र कार्यदिशा गलत भएको निष्कर्ष निकालेपछि बिद्रोह गर्ने हो ।
३) विचारको वहसमा सम्भव हुँदासम्म समुह बनाइन्छ तर संगठनात्मक मामलामा कुनै पनि गुटको सदस्य बनिदैन, नेताहरुसँग वा अरूहरुसँग पनि व्यक्तिगत सम्बन्ध बनाइदैन । व्यक्ति गत सम्बन्ध बनाएर विभिन्न प्रकारको फाइदा लिनु सार्वजनिक अख्तियारीको दुरुपयोग हो ।
४) श्रम गर्ने र दैनिकी चलाउने हो । यसभन्दा बढी पैसाका लागि राजनीतिक कर्मीले पद भकुर्नु वा जे पनि गर्नु र सम्पत्ति थोपर्नु अपराध हो भन्ने बुझाइमा टिकिरहने हो ।
५) कतै वा कुनै कार्यक्रममा विचार वा विषय राख्ने जिम्मा पर्याे भने मञ्चमा गएर उपरखुट्टी लगाएर बस्नुपर्छ भन्ने लाग्दैन । सहभागीसँगै बस्ने, विषय राख्ने पालोमा मञ्चमा जाने र फेरि फर्किएर तलै बस्ने हो । जिम्मा छैन वा आयोजकले कार्यक्रममा बोलाकै छैन भने हत्त न पत्त मञ्चमा गएर ढसमस्स बस्नेहरु राम्रा संस्कारका मान्छे होइनन् भनेर बुझ्नुपर्छ ।
६) जोसुकै होस् व्यक्ति पूजा गरिदैन । कसैले नेतालाई देवता ठानेर पूजा गर्छ भने त्यसको दृढतापूर्वक विरोध गरिन्छ । स्वयम् नेताले आफ्नो पूजा गरेको देखेर पनि नदेखे जस्तो गर्छ वा पूजा गरेको देखेर मख्ख पर्छ भने त्यस्तो नेतालाई आत्मस्वीकृतिको नेतृत्व मानिदैन ।
७) समाज परिवर्तनको आन्दोलनमा वर्ग वा समुदाय विजयी हुुँदा त आन्दोलनको अगुवा जनतासामु विनम्र हुने हो । राजनीतिक आन्दोलनमा व्यक्ति कहिल्यै पनि पराक्रमी भएर विजयी हुँदैन । त्यसैले स्वागत (कार्यक्रम, एयरपोर्ट वा यस्तै) मा जनता वा कार्यकर्ताहरुलाई घण्टौ पंक्तिमा उभ्याएर हैरान नबनाउने, कुनै अर्थ र मूल्य नभएको माला-खादा पहिरिएर रमिता नदेखाउने र अगुवा-पछुवा लिएर नहिंड्ने हो । यस संस्कारले मात्र जनतासँगको सम्बन्ध जिवन्त बनाउँछ भन्ने मेरो बुझाई र प्रतिबद्धता छ ।
वि.सं.२०७८ पुस १ बिहीवार १०:४१ मा प्रकाशित




























