काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक नेपालीको पहिचान भनेको उसको परम्परा रहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा शुभकाममना व्यक्त गर्दै सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता रहेको बताएका छन् ।
‘नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको हो,’ अध्यक्ष प्रचण्डद्धारा जारी शुभकामनामा भनिएको छ, ‘सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको बताउँदै यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।
वि.सं.२०७८ पुस ४ आइतवार १०:३८ मा प्रकाशित




























