back
CTIZAN AD

एसिया कप खेल्न युएई जाने टोलीको बिदाइ

वि.सं.२०७८ पुस ५ सोमवार

750 

shares

५ पुष, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं क्यानका पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । नेपाली टोली आज राति १० बजे युएईतर्फ प्रस्थान गर्नेछ ।

यही पुस ८ देखि १६ गतेसम्म सञ्चालन हुने यु–१९ एसिया कप क्रिकेटमा आयोजक युएइसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, कुवेत, भारत, अफगानिस्तान र पाकिस्तान गरी आठ राष्ट्र सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । त्यसमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । त्यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले आफनो पहिलो खेल यही पुस ८ गते बङ्गलादेशसँग खेल्नेछ भने दोस्रो खेल पुस ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यसैगरी नेपालले समूह चरणको अन्तिम खेल पुस १३ गते कुवेतसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली टोलीमा देव खनाल ९कप्तान०, शेर मल्ल उपकप्तान, दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् । प्रशिक्षकमा भने वसन्त शाही ठकुरी रहेका छन ।

वि.सं.२०७८ पुस ५ सोमवार १६:२७ मा प्रकाशित