काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना भएको छ ।
मंगलवार बेलुका धनगढीबाट महेन्द्रनगर जाने क्रममा मन्त्री आले सवार गाडीलाई विपरित दिशातर्फबाट आएको गाडीले ठक्कर दिएको हो ।
मन्त्री आले सवार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय सुदूरपश्चिमको सुप प्र ०१००१ झ ३३३ नम्बरको गाडीलाई विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ को गाडीसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानविय क्षति नभएको जानकारी दिएका छन् ।
महेन्द्र नगरमा आयोजित कार्यक्रममा भाग लिन कृषि सहकारी मन्त्रालयको गाडी लिएर गएका मन्त्री आलेसहित गाडीमा सवार अन्य व्यक्तिहरु सकुसल रहेको पनि मन्त्री आलेको पारिवारीक श्रोतले जानकारी दियो ।
‘अर्को गाडीलाई हानेर आएको रहेछ त्यो गाडीले यता आएर मन्त्री सवार गाडीलाई पनि ठक्कर दिएछ । ठक्कर दिने गाडीका ड्राइभरले मदिरा सेवन गरेको पाइएको छ । मन्त्रीसहित सबै सकुसल हुनुहुन्छ ।’ श्रोतले भन्यो ।
वि.सं.२०७८ पुस २८ बुधवार ०८:१० मा प्रकाशित


























