
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशाला धर्मशाला नभई सात तारे होटल बनेको प्रतिक्रिया दिएका छन् । आइतबार धर्मशालाको निरीक्षणमा पुगेका उनले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले धर्मशाला देखेर आफूँ नै ‘सक’ भएको बताए । मन्त्री आलेले अनुमति बेगरका संरचना बतास समूहले धर्मशालाभित्र बनाइएको पनि बताए ।
“छानबिन समितिले भोलि प्रतिवेदन पेश गर्छ, त्यसपछि त्यसको आधारमा सबै कुरा छर्लङ्ग बाहिर आउने छ”, मन्त्री आलेले सञ्चारकर्मीसँग भनेका छन्, “यहाँ कतिपय संरचना अनुमति नै नलिएर बनाइएका पनि रहेछन् ।”
उनले धर्मशालाको ठेण्डर प्रक्रियामा भएका बेइमानीको सबै छानबिन गरी कारबाही गरिने पनि बताएका छन् । “के–के कमीजोरी भएको छ, टेन्डर लगायतमा कसको साँठगाँठ छ प्रतिवेदन बुझाइसकेपछि छर्लङ्ग हुनेछ”, उनले भने, “भक्तजनले सर्वसुलभ रुपमा बस्न पाउन भनेर बनेको हो, तर हेर्दा आलिसान कोठा रहेछन्, धर्मशालाको रुप नभएर आधुनिक सेभन स्टार होटलको जस्तै छ ।”
मन्त्री आलेले कसैप्रति पूर्वाग्रह नराखी छानबिन प्रक्रिया अगाडि बढाइएको बताएका छन् । उनले कानूनी दायरभन्दा बाहिर गएको आधार भेटिए जोकोहीलाई पनि नछाडिने पनि चेतावनी दिए ।
पशुपतिमा आउने तिर्थालुका लागि बनाइएको धर्मशालालाई तत्कालिन सरकारले भाडामा लगाउने निर्णय गरेको थियो । भाडामा पाएको बतास समूहले उक्त धर्मशालालाई महंगो होटलको रुपमा परिणत गरेको छ । धर्मशालामा एउटै कोठाको ११ हजारभन्दा बढी भाडा असुल्ने गरेको भेटिएको छ ।
मन्त्री आलेले धर्मशालामा गरिएको मनपरी सार्वजनिक भएसँगै पशुपति विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरि छानबिन गर्न लगाएका थिए । छानबिन समितिले आफ्नो प्रतिवेदन सोमबार बुझाउँदै छ । मन्त्री आलेले उक्त प्रतिवेदन पाएसँगै कारबाही अगाडि बढाउने जनाएका छन् ।