काठमाडौं । नेपाल आयल निगमले आफ्नो खातामा बचत रकम सकिएको बताएको छ । निरन्तर तेलमा भएको घाटाका कारण हालसम्मको सञ्चित रकम सकिएको बताएको हो ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले संचित बचत शून्यमा झरेको बताएको छ । भारतीय आयल निगमलाई यो महिनादेखि किनिएको तेलको रकम भुक्तानी गर्न झण्डै २ अर्ब रुपैयाँ अपुग हुने भएकाले ऋण लिनुपर्ने अवस्था आएको उसले जानकारी गराएको छ ।
“अब निगमसँग सञ्चित बचत शुन्य अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेसनलाई आगामी २३ जनवरी, २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ अपुग हुने स्थिति देखिएको छ”, निगमले विज्ञप्तिमा भनेको छ, “यसको व्यवस्थापनका लागि निगमले ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी रकम प्रयोग गर्नु पर्ने स्थिति देखिएको छ ।”
आगामी दिनमा मूल्य केही समायोजन गरिए पनि महिनाको झण्डै ४ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । “आगामी तीन महिनाका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई थप १२ अर्ब रुपैयाँ आवश्यकता पर्छ”, निगमले भनेको छ ।
पुस मसान्तम्म निगमले १९ अर्ब २६ करोड घाटा व्यहोरेको र माघ १ गते निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने बताइएको छ ।
निगमले निरन्तर घाटा देखाउँदै चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा ३ पटक मात्रै मूल्य समायोजन गरिसकेको छ ।
वि.सं.२०७८ माघ ४ मंगलवार १५:४२ मा प्रकाशित




























