
काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति पक्राउ परेका छन् ।
उपभोक्तामाथि लामो समयदेखि चरम खेलवाड गर्दै आएका सिन्धुपाल्चोक इन्द्रावती घर भई काठमाडौंको ज्याँठामा बस्दै आएका नरेश भन्ने नरबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।
श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि आफ्नी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई स्पर्स हनी नामको लेबल टाँसेर बिक्री बितरण गर्ने गरेको आरोपमा प्रहरीले बुधवार पक्राउ गरेको हो ।
श्रेष्ठले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्दै आएका थिए ।
गोप्य सुचनाका आधारमा खटिएको प्रहरीले श्रेष्ठलाई विभिन्न मिसावट गरी मह बनाईरहेको अवस्थामा मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले मह बनाउनका लागि दाङ, नवलपरासी र चितवनबाट कच्चा पदार्थ खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. रु. ६५० मा बिक्री बितरण गर्दै आएको प्रहरीले जनाएको छ । उनले ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी मह बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उक्त महलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागमा परीक्षण गर्दा सरकारले तोकेको मापदण्ड अनुसार नरहेको तथा मह खान योग्य नरहेको पाइएको थियो ।
महानगरीय अपराध महाशाखाले काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भै रहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुमा अपिल समेत गरेको छ ।