काठमाडौं । संयुक्त विद्यार्थी संगठनले चर्को मूल्य लिएर ठगी गर्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
संयुक्त विद्यार्थी संगठन र काठमाण्डौं विश्वविद्यालय धुलिखेलबीच सोमवार भएको वार्तामा विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको समस्या समाधान नभए आफुहरु चरित्र अनुसार संघर्षका कठोर कदम चाल्ने चेतावनी समेत दिँदै ज्ञापनपत्र समेत बुझाएका छन् ।
विश्वविद्यालयले विद्यार्थीहरुको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको र मंगलवार औपचारिक रुपमा समस्या समाधान हुने विस्वास आफुहरुले लिएको पनि अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।

‘चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित काठमाडौं विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेज, सिनामंगल र नोबेल मेडिकल कलेज, मोरङ २०७८ को नयाँ भर्ना एमबिबिएस, बिडिएस र बिएनएसका विद्यार्थीहरुबाट अतिरिक्त शुल्क बापत पाँच लाख भन्दा बढी रकम लिइएको पाइएको र ऐच्छिक हुनुपर्ने छात्रावास अनिवार्य तथा चर्को शुल्क लिएर भर्ना हुन दावव दिने विषयका कारण काठमाडौं मेडिकल कलेज र नोबेल कलेजका विद्यार्थी मंसिर १९ गतेदेखि आन्दोलनरत छन्,’ विद्यार्थी संगठनद्धारा काठमाडौं विश्व विद्यालय धुलिखेललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘विद्यार्थीहरुका जायज मागहरुको सम्बोधनको साटो चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयले एक अर्कालाई देखाएर पन्छिने र मेडिकल माफियाले विद्यार्थीलाई निरन्तर ठगी रहेको प्रति संयुक्त विद्यार्थी संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) की अध्यक्ष पन्चा सिंह, अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका संयोजक मनिष भट्टराईद्धारा संयुक्त रुपमा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनमा ऐक्बद्धता सहित आन्दोलनका चरणबद्ध संघर्षको घोषणा समेत गरेको बताइएको छ ।
‘ विद्यार्थीहरुलाई अतिरिक्त रकम लिने र धम्की दिने काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीको सहज पठनपाठन र दोषि संचालक र कलेजहरुलाई कानुन बमोजिम कारबाही र सम्बन्धन खारेज गरी आफ्नो जिम्मेवारी पूरा गर्नुहुनेछ । अन्यथा हामी विद्यार्थीहरु आफ्नो चरित्र अनुसारको कठोर कदम चाल्न बाध्य हुनेछौं ।’
वि.सं.२०७८ माघ ११ मंगलवार १०:५३ मा प्रकाशित






























