काठमाडौं । मूर्ति चोरीमा सजाय पाएका छिरिङ दमदोल लामा (कार्चेन लामा)लाई मन्त्री बनाउने तयारी भएपछि नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश कमिटीभित्र असन्तुष्टी बढेको छ । नेताहरुले लामालाई मन्त्री बनाउने तयारीप्रति विरोध गरेका छन् ।
संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले लामालाई मन्त्री बनाउनु जनताको मतको ठूलो अपमान भएको बताए । उनले निर्णयलाई सच्याउन पनि माग गरेका छन् ।
“यो निर्णय निकै बेठीक निर्णय छ, यसले जनमतको सम्मान गर्दैन, अर्कोतिर गैरसांसदलाई मन्त्री बनाउँदा क्षमतावान सांसदको मानमर्दन हुन्छ”, उनले भनेका छन्, “यसले प्रदेशमा विकृति र व्यथिति मात्रै मौलाउने छ, यसको मुख्य जस माओवादीले लिनु पर्ने छ ।”
उनले माओवादीको यो निर्णयललाई माओवादी आन्दोलनको कलंकको रुपमा समेत व्याख्या गरेका छन् ।
मन्त्री बनाउन लागिएका लामा गैरसांसद हुन् । उनलाई कानुनी छिद्रको प्रयोग गरि ६ महिनाको लागि मन्त्री बनाउन लागिएको हो । बताइएअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिधा निर्देशनअनुसार लामालाई मन्त्री बनाउन लागिएको हो ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ सांसद छन् । जसमध्ये आधाले मन्त्री बन्ने अवसर पाएका छैनन् । तर, लामालाई मन्त्री बनाउन लागिएसँगै असन्तुष्टी बढेको हो ।
मन्त्रीको सूचीमा परेका लामा २०४९ देखि २०५१ सम्म २ वर्ष मूर्ती चोरीको अभियोग ठहर भई जेल सजाय पाएका थिए । लामाले तिब्तको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेका थिए । चोरीको मूर्ति १२ सय वर्ष पुरानो भएको बताइन्छ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार १६:५५ मा प्रकाशित






























