काठमाडौं । प्रधानमन्त्री शेरबहादुुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन बोर्डले एमसीसी सम्झौता अनुमोदनका लागि डेडलाइन तोकेको छ । बोर्डका कार्यवहाल मुख्य कार्यकारी अधिकृत मोहमद बहले फेबु्रअरी ३ का दिन पत्र पठाउँदै एमसीसी पारित गर्न आगामी फेब्रुअरी २८ सम्मको डेडलाइन तोकेको हो ।
गत सेप्टेम्बर २९ मा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन गराउन सकारात्मक रहेको भन्दै चार/पाँच महिना पर्खन आग्रहसहितको पत्र पठाएका थिए । जसको जवाफमा परियोजनाको बोर्डले पत्र पठाएको हो ।
पत्रमा एमसीसीले तोकिएको समयसीमासम्म तोकिएको समयभित्र संसदबाट पारित गरिए आगामी मार्चमा बस्ने एमसीसी बोडएको बैठकले यसको निरन्तरताले निर्णय लिने बताएको छ । फेब्रुअरी २८ भित्र संसदबाट पारित नगरीएको खण्डमा उक्त सम्झौता खारेज हुने उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘यसलाई निरन्तरता दिने कि नदिने भन्नेमा छलफल हुन्छ । नेपालले पाउने ५०० मिलियन डलरको परियोजनालाई टुंग्याउने अधिकार एमसीसी बोर्डसँग छ । त्यसो भयो भने नेपालसँगको एमसीसी सम्झौता सकिनेछ ।’
एमसीसी मुख्यालयले सहयोग लिने वा नलिने नेपालको सार्वभौम अधिकार भएको उल्लेख गरेको छ ।
गत सेप्टेम्बर २९ मा नेपालको तर्फबाट प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई पत्र लेख्दै एमसीसी संसदबाट पारित गराउन चार/पाँच महिनाको समय मागेका थिए । दुवै नेताले पत्रमा पाँच महिनामा एमसीसीका पक्षमा सत्ता गवठबन्धनभित्र छलफल गर्ने र अनुमोदनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।


वि.सं.२०७८ माघ २३ आइतवार १३:५५ मा प्रकाशित






























