काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसीसीलाई पठाइएको कुटनीतिक पत्रको गलत व्याख्या गर्नुको कुनै अर्थ नरहेको बताएको छ ।
यसअघि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा हस्ताक्षरित एमसीसीलाई पठाइएको पत्र सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डको सचिवालयले यसबारेमा स्पष्टीकरण दिँदै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ नरहेको बताएको छ ।
सचिवालयले एमसीसीका बारेमा २९ सेप्टेम्बरमा एमसीसीको मुख्यालयमा पठाइएको प्रधानमन्त्री देउवा र पार्टीका अध्यक्ष प्रचण्डका तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएको टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
‘प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो’, स्पष्टीकरणमा भनिएको छ, ‘र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो । देशमा एकातिर एमसीसी बारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म बिरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसी बारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जन बिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन ।’
देश र जनताको हितलाई सर्वोपरि ठानी माओवादी केन्द्रले आफ्ना धारणा स्पष्ट गर्दै आएको बताउँदै यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा माओवादी केन्द्र दृढ रहेको समेत बताइएको छ ।
‘यसबारे गरिएका नियोजित प्रचारवाजिको भ्रममा नपर्न सम्पुर्ण पार्टीपङ्ती र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं ।’ स्पष्टीकरणमा भनिएको छ ।
वि.सं.२०७८ माघ २३ आइतवार २०:४२ मा प्रकाशित






























