काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतामा सहयोग गर्न भन्दै गरेको आग्रहमा एमालेले एमसीसीबारे सत्तापक्ष नै स्पष्ट नभएको बताएको छ ।
प्रधानमन्त्रीबाट बाहिरीएपछि झण्डै सात महिनामा आइतवार बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना एमसीसी सम्झौताबारे सत्तापक्षका दलहरु नै स्पष्ट नभएको भन्दै यसबारेमा आफ्नो धारणा नराखेको बताइएको छ ।
आइतवारको बैठकमा मुख्यत स्थानीय निकायको निर्वाचन र एमसीसीलाई नै छलफलका विषय बनाइएको र एमसीसी सम्झौता संसदबाट पास गर्नका लागि प्रधानमन्त्री देउवाले ओली समक्ष सहयोग गर्न आग्रह गरेका थिए ।
निर्वाचनपछि एमसीसी अगाडी बढाउन प्रचण्डको प्रस्ताव
एमालेका अध्यक्ष केपी ओली सँगै बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय निकायको निर्वाचन पछि नै प्रतिपक्षी र सत्तापक्षी मिलेर एमसीसी सम्झौता अगाडि बढाउन प्रस्ताव गरेका छन् ।
बैठकमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी बारे फरक–फरक धारणा राखेको र सत्तापक्ष नै यसमा स्पष्ट नभएकाले अध्यक्ष ओलीले यसबारेमा आफ्ना धारणा राख्न नचाहेको बताएका छन् ।
‘एमसीसीमा सत्तापक्षले आफ्नो दृष्टिकोण के हो ? प्रष्ट नगरेसम्म हाम्रो धारणा यो भन्नु उचित हुन्न’ बैठकपछि महासचिव पोखरेलले संचारमाध्यमलाई बताएका छन् ।
बैठकमा अध्यक्ष प्रचण्डले संसद सुचारुका लागि सहयोग गर्न समेत ओली समक्ष आग्रह समेत गरेका छन् ।
वि.सं.२०७८ माघ २३ आइतवार २१:१३ मा प्रकाशित






























