काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मैनालीले एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठूलो भिडन्तमा लान खोजेको आरोप लगाए ।
“प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न चर्को दबाब दिदै देशलाई नव उपनिवेश बनाउन खोज्नुभएको छ”, मैनालीले भने, “देउवाले देशलाई द्वन्द्वमा धकेल्ने प्रपञ्च गरिरहनुभएको छ ।”
एमसीसी पारित गर्न खोजे देशमा ठूलो द्धन्द्धमा फस्ने उनको भनाई छ।
नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक (२०७४ साल भाद्र)मा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने नलेखिएको बताए । “नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भाद्रमा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने लेखिएको थिएन”, उनले भने, “त्यसलाई १ वर्षपछि संसदबाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँको शिर्ष नेता, कर्मचारीहरुले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडी बढेका छन्, विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरु नेपाल सरकारले पारित गरेको इतिहास छैन ।”
मैनालीले संविधानको प्रावधान नहेरी गर्न नपर्ने कुरालाई पनि थुपारेर, अनुमोदन पछिको दुश्प्रभावको बारेमा केही नसोचि संसदबाट अनुमोदन गर्न जुटेको आरोप लगाए । संसदले उक्त सम्झौता अनुमोदन गरेपछि खुद कानुन बन्ने उनको भनाई थियो । एमसीसी सम्झौतामा उल्लेख भएका कुरा कानुन सरह हुने पनि उनले मैनालीले दाबी गरे ।
वि.सं.२०७८ माघ २४ सोमवार १७:४८ मा प्रकाशित






























