काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् । मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै उनले एमसीसीमा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति नभएको भन्दै फिर्ता लान गौतमले आग्रह गरेका हुन् ।
उनले नेपालको जनमत एमसीसी विरोधी भएको पनि बताएका छन् ।
“अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ, नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न”, गौतमले वक्तव्यमा भनेका छन्, “यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।”
नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ । उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन् ।
यस्तो छ गौतमको व्यक्तव्य

वि.सं.२०७८ माघ २५ मंगलवार १३:०० मा प्रकाशित






























