काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफू एमाले प्रवेश गर्ने कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् । केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले आफुँ एमाले हुने कुरा सोंच्न पनि नसक्ने बताए ।
“म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो, यो सोच्न पनि सकिँदैन”, समाचार एजेन्सीसँगको कुराकानीमा उनले भनेका छन् ।
प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएकाहरूको कुप्रचार मात्र भएको टिप्पणी गरे । उनले यस्तो कुप्रचार गर्नेहरूलाई जनताले कारबाही गर्ने चेतावनी पनि दिए ।
“पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ, यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो, यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु”, उनले भने ।
पछिल्लो केही समयदेखि प्रकाण्डसहितको टिम एमाले प्रवेश गर्न लागेको चर्चा छ । समूहमाथि तत्कालिन सरकारले लगाएको प्रतिबन्ध फुकुवासँगै प्रकाण्ड पटक–पटक एमाले नेतृत्वसँग छलफलमा बसेका थिए । प्रचण्डका कडा आलोचकका रुपमा देखिएका उनी एमाले प्रवेश गर्न लागेको चर्चा केही सञ्चार माध्यमले चलाएका थिए ।
वि.सं.२०७८ माघ २५ मंगलवार १३:३७ मा प्रकाशित





























