काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक सुरू भएकाे छ । सिंहदरबारमा बसेको बैठकमा एमालेबाहेक संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू सहभागी छन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी छन् । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने उपस्थित छैन ।
नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने भन्दै सोमबार बिहानै जनाएको थियो । सभामुखको भूमिका र सरकारको गतिविधिप्रति आपत्ति जनाउँदै एमालेका नेताहरूले सर्वदलीय बैठकमा सहभागी नहुने बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
वि.सं.२०७८ फागुन २ सोमवार १५:१४ मा प्रकाशित






























