काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार बसेको संसदीय दलको बैठकबाट सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । सांसद शेरबहादुर तामाङले जानकारी दिएअनुसार अध्यक्ष ओलीले विभिन्न ६ वटा खाली कागजमा हस्ताक्षर गराएका हुन् ।
ओलीले के प्रयोजनका लागि हस्ताक्षर संकलन गरिएको भन्नेबारे भने स्पष्ट पारेनन् । बैठकमा सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व ल्याइएको महाभियोग प्रस्तावको पक्षमा बोल्दै काउण्टर प्रस्ताव ल्याउन नहुने मत राखेका थिए । तर, अध्यक्ष ओलीले शीर्ष नेतृत्वबाट टुंगो लगाउने भन्दै हस्ताक्षर संकलन गराएका थिए ।
ओलीले खाली पानामा प्रयोजन नखुलाई हस्ताक्षर संकलन गराए पछि ५ सांसदले भने आपत्ति जनाएका छन् । सांसदहरु घनश्याम भुसाल, भीम रावल, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपटबहादुर रावलले प्रयोजन नखुलाई हस्ताक्षर नदिने भन्दै ओलीलाई सहयोग गरेनन् । पाँचै सांसदले हस्ताक्षर नदिएको सांसद झपट रावलले बताएका छन् ।
बैठकमा उपस्थित पाँच सांसद बाहेक अन्य सांसदहरुको भने अध्यक्ष ओलीले हस्ताक्षर लगेका छन् । ओली निकटस्थ नेताहरुले प्रधानन्यायाधीश राणाविरुद्व ल्याइएको महाभियोगको काउण्टर प्रस्ताव ल्याउने बताइरहेका छन् । एमालेको शीर्ष टिमभित्र अन्य चार न्यायाधीश वा सभामुखमाथि महाभियोग दर्ता गर्ने विषयमा छलफल चलिरहेको छ ।
वि.सं.२०७८ फागुन २ सोमवार १८:०५ मा प्रकाशित






























