back
CTIZAN AD

भरतपुर आँखा अस्पतालले १४ करोड लगानीमा नयाँ भवन बनाउने

वि.सं.२०७८ फागुन ३ मंगलवार

807 

shares

चितवन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ ।

अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । अस्पतालले रु १४ करोड ३५ लाख खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो ।

भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि रु चार करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ । भवन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नका लागि कूल रु १४ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ ।

बजेट अभाव भएका कारण हाललाई सुरुआतमात्रै गर्न खोजिएको नेपाल नेत्रज्योति सङ्घका सभापति एवं भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए ।

निर्माण थालेको छ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ । तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुइँतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष (अपे्रशन थिएटर) सञ्चालन हुनेछ ।

विसं २०४४ चैत १८ गते आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो । स्थापनाकालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगको निदान गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थिए ।

अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । हाल अस्पतालमा बहिरङ्ग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरङ्ग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवा, चश्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवालगायत सेवा उपलब्ध रहेको धरेलले जानकारी दिए ।

अस्पतालले सेवा विस्तार गर्न क्रममा विभिन्न ठाउँमा शाखा तथा उपशाखा सञ्चालन गरेको छ । ठोरीको गौतमनगर, नवलपुरको कावासोती र बाराको सिम्रौनगढमा आँखा अस्पताल सञ्चालन गरेको छ ।

चितवनको माडी, रत्ननगर, पर्सा, चनौली, कुरिनटारमा आँखा उपचार केन्द्र रहेका छन् भने जिल्ला बाहिर धादिङको नरसिंहधाम सल्यानटार, सिन्धुलीको दुधौली, नवलपुरको हुप्सेकोट, नवलपुरकै चोरमारा र धादिङको बेनिघाटमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । भरतपुर ओरालोमा बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ ।

ती सबै शाखा तथा उपशाखामा दैनिक करिब सातदेखि आठ सय जनासम्मले सेवा लिँदै आएका छन् । अस्पतालले केही वर्षअघिदेखि आँखा बैंकसमेत स्थापना गर्ने योजनासहित आँखाको नानी प्रत्यारोपणमा काम गर्दै आएको छ । अस्पतालकी आँखा बैंक संयोजक छाया श्रेष्ठका अनुसार हालसम्ममा ९२ जना सेवाग्राहीले आँखाको नानी फेरिइसकेका छन् । जीवित छँदै आँखा दान गरेकाहरूको मृत्युपश्चात दाहसंस्कार गर्नुपुर्व नै आँखाको नानी सङ्कलन गरेर आँखा प्रत्यारोपण गर्ने गरिन्छ ।

अस्पतालमा गत आर्थिक वर्षमा ८८ हजार ५९७ जनाले बहिरङ्ग सेवा र छ हजार ८०६ जनाको शल्यक्रिया गरिएको थियो । कोभिडका कारण यो सङ¬्ख्या घटेको हो । आर्थिक वर्ष २०७५÷७६ मा एक लाख ३७ हजार ५२५ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालले जनाएको छ ।

भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक चारदेखि पाँच सय बहिरङ्ग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ । अस्पतालमा हाल ६२ शय्या सञ्चालनमा रहेका छन् ।

अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै एक सय शय्या थप हुने अस्पतालका प्रशासक दयाशङ्कर चौधरीले जानकारी दिए । यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्यासम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने दाबी उनले गरे ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले रु एक करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । तत्काल आधा रकम र बाँकी आगामी आवमा प्राप्त हुने गरी सुनिश्चितता गराउने उनको भनाइ थियो । सरकारको एक सहर एक पहिचान रूपमा भरतपुर मेडिकल सिटीका रूपमा विकास भएको भन्दै उनले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष एवं सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्केले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा सङ्घका बागमती प्रदेश संयोजक ऋषि पौडेल, नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द, सेवा फाउण्डेशनका कन्ट्री डाइरेक्टर रामप्रसाद कँडेल, सङ्घका सहसचिव केशव अधिकारीलगायतले बोलेका थिए । रासस

वि.सं.२०७८ फागुन ३ मंगलवार १०:३२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...