काठमाडौं । पत्रकार महासंघले युएई प्रहरीद्धारा पक्राउ गरिएका पपत्रकार उमाकान्त पाण्डेको रिहाईको माग गरेको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेर उज्यालो रेडियो नेर्टवर्कका लागि कार्यरत पत्रकार पाण्डेले नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
‘पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते ’सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा’ लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको छ,’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ ।’
नेपालमा रहँदा पत्रकार पाण्डेले लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत रहनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप रहेको महासंघले ठहर गरेको छ ।
‘महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकषर्ण गराउँदछ ।’ महासंघका महासचिव रोसन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७८ फागुन ११ बुधवार १६:१० मा प्रकाशित






























