काठमाडौं । रूससँगको युद्धमा यूक्रेन एक्लो परेको छ । उसलाई सहयोग गर्ने आश्वासन दिएको अमेरिका र नाटो लडाईँ चलेसँगै पछाडि हटेका छन् । अमेरिका र नाटो पछाडि हटेसँगै रुसी सेना निरन्तर युक्रेन तर्फ अगाडि बढीरहेका छन् ।
सञ्चार माध्यमले जनाएअनुसार रूसी सेना राजधानी कीभलाई कब्जा गर्ने अन्तिम तयारीमा छन् । अमेरिकी गुप्तचर एजेन्सीहरूले बताएअनुसार अबको ९० घण्टाभित्र यूक्रेन रुसको कब्जामा पर्नेछ ।
यस्तो अवस्थामा प्रश्न उठ्छ, आखिर अमेरिका समर्थित यूक्रेन यो युद्धमा किन एक्लो पर्यो ? आखिर, नेटोका सदस्य राष्ट्रहरू र अमेरिका किन रुससँग प्रत्यक्ष भिडन्त गर्न अघि सरेनन् ? तिनीहरू किन प्रत्यक्ष आक्रमणको सट्टा बयानबाजी र प्रतिबन्धहरूमा मात्रै सीमित भए ?
पुटिनसँग टक्कर गर्न सजिलो छैन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टक्कर दिन कुनै देशलाई सजिलो छैन । यो कुरा अमेरिकालाई पनि थाहा छ । यही कारणले गर्दा अमेरिकाले युक्रेनमा आफ्नो सेना नपठाउने भनेको थियो । यस्तै सन्देश नाटोले पनि दिएको छ । यसको मतलब युक्रेनले यो युद्ध एक्लै लड्नुपर्नेछ।
अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो
जब रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको थियो तब सीमामा सेना तैनाथ गरिँदै थियो । अमेरिका सबैभन्दा बढी आक्रामक देखिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा हमला भए नाटो सदस्य राष्ट्रहरूले मिलेर रुसमाथि हमला गर्ने र त्यसको नतिजा निकै नराम्रो हुने पनि चेतावनी दिएका थिए । तर, रुस यी धम्कीबाट पछि हटेन र युक्रेनमा सैन्य कारबाही शुरू गर्यो । त्यसयता न अमेरिका न त नेटोको कुनै सदस्य राष्ट्र रुसको प्रत्यक्ष सामना गर्न अगाडि आए ।
किन डराउँछन् युरोपेली देश ?
रुसमाथिको प्रत्यक्ष आक्रमणबाट युरोपेली देशहरू पछि हटिरहेका छन् । यसको मुख्य कारण यी देशहरूको रुसमाथिको निर्भरता हो। वास्तवमा, युरोपेली देशहरू ऊर्जाको लागि रूसमा धेरै निर्भर छन्। धेरै इयू देशहरू, जो नाटो सदस्यहरू पनि छन् । उनीहरूको ४० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति रूसबाट हुन्छ । यस्तो अवस्थामा यदि रुसले ग्याँस र कच्चा तेलको आपूर्ति रोक्यो भने पुरै युरोप ठूलो ऊर्जा संकटको कगारमा पुग्नेछ । बिजुली र पेट्रोलियम पदार्थको मुद्रास्फीतिले उनीहरूको कम्मर भाँचिने निश्चित छ । यो सबै देशलाई राम्रोसँग थाहा छ। त्यसकारण युरोपेली देशहरू रुससँग प्रत्यक्ष भिड्न इच्छुक नभएका हुन् ।
प्रतिबन्धले रूसलाई कुनै असर गर्दैन
रुसमाथि अमेरिका र अन्य धेरै देशले प्रतिबन्ध लगाएका छन् । यति हुँदाहुँदै पनि रुस रोक्न तयार छैन । वास्तवमा रुसले आफ्नो शक्ति यसरी बढाएको छ कि यो देश कुनै पनि किसिमको प्रतिबन्धबाट खासै प्रभावित हुने छैन । अमेरिका र नेटो देशहरूले प्रत्यक्ष आक्रमण नगर्नुको एउटा कारण यो पनि हो।
वास्तवमा, रुसको अन्तर्राष्ट्रिय मुद्रा भण्डार जनवरीमा ६३० बिलियन डलर थियो। अझ चाखलाग्दो कुरा के छ भने त्यसमध्ये १६ प्रतिशत मात्रै डलरमा राखिएको छ । जबकी पाँच वर्षअघि यो ४० प्रतिशत थियो ।
चीनको समर्थन छ
चीन एसियाकै शक्तिशाली राष्ट्रमध्येको एक हो । पछिल्ला केही वर्षमा रुस र चीनबीचको सम्बन्ध बढेको छ । यो कुरा अमेरिकालाई पनि थाहा छ । यसैबीच अमेरिकाले चीनसँग शत्रुता बनाइसकेको छ । यस्तो अवस्थामा रुसमाथि सीधा हमला भयो भने चीनको समर्थन पक्कै मिल्नेछ । तसर्थ, शक्तिशाली राष्ट्रहरूबीचको टकराव सबैका लागि हानिकारक हुनेछ।
आणविक शक्ति सम्पन्न छ रूस
रूस परमाणु शक्ति भएको राष्ट्र हो। यसबाहेक उनीसँग हतियारको ठूलो भण्डार छ । रसियासँग विश्वको सबैभन्दा ठूलो सेना छ। एकै समयमा, आफ्नो मिसाइल प्रविधिले जो कोहीलाई पनि कुचल्ने तागत रूससँग छ। पुटिनले युक्रेनको मुद्दामा कसैले हस्तक्षेप गरे इतिहासकै सबैभन्दा नराम्रो परिणाम भोग्नुपर्ने बताएका छन् । त्यसकारण अमेरिका र नेटो सदस्य राष्ट्रहरूलाई पुटिनसँग प्रत्यक्ष टकरावको अर्थ ठूलो विनाश हुनेछ भन्ने थाहा छ। एजेन्सीको सहयोगमा
वि.सं.२०७८ फागुन १३ शुक्रवार १६:४० मा प्रकाशित
























