
१९ फागुन । रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ । रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो ।
झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरिदिएको समाचारमा जनाइएको छ । यसअघि उनीहरूले रुसको सेन्ट पिटर्सवर्गमा रहेको युक्रेनको कन्सुलेट जनरलमा समेत काम गर्न रोक लगाएका थिए ।
रुसले गत बिहीबारदेखि युक्रेनमा आक्रमण गर्न थालेको हो । आक्रमण अहिले पनि जारी रहेको छ । आक्रमण सुरु भएको पाँचौ दिनमा दुई पक्षका प्रतिनिधिका बीचमा वार्ता भएपनि सहमति हुन भने सकेको छैन ।
दुवै पक्ष आ आफ्नै अडानमा रहेकाले वार्ताले समाधान दिन नसकेको अधिकारीहरूले जानकारी दिएका छन् । विश्वका धेरै देशले युक्रेन माथी रुसले आक्रमण गरेकोमा आलोचना गरेका छन् । केही देशहरुले मात्रै रुसलाई समर्थन गरेका छन् ।
वि.सं.२०७८ फागुन १९ बिहीवार १०:२२ मा प्रकाशित