काठमाडौं । एमसीसीको विषय सेलाउँदै गइरहेको बेला नेपाली राजनीतिमा पुनः ‘अर्ली इलेक्सन’को मुद्दा भित्रिएको छ । प्रमुख प्रतिपक्षी दलको निरन्तरको संसद अवरोधको कारणलाई देखाउँदै सत्तारुढ गठबन्धनले अर्ली इलेक्सनको मुद्दालाई छलफलमा ल्याएको हो । गठबन्धनका नेताहरुले मुलुक छिट्टै अर्ली इलेक्सनको दिशातिर जाने सम्भावना देखाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा शुक्रबार एमालेको कारण अर्ली इलेक्सनको सम्भावना बढेको बताएका थिए । अध्यक्ष प्रचण्डले अर्ली इलेक्सनको विषय चर्चामा ल्याएसँगै आइतबार बसेको संसद बैठकपछि सत्ता गठबन्धनकै अर्का नेता एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि उक्त सम्भावनाबारे मुख खोलेका छन् । उनले निर्वाचनमा जानुको विकल्प नदेखिएको बताएका छन् ।
आइतबारको संसद बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले भनेका छन्, “ एमालेले संसद् पनि चल्न नदिने, संसद्मा गञ्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ। यस्तो अवस्थामा संसद् विघटन गरेर ‘अर्ली’ निर्वाचनमा जानु नै उत्तम हुन्छ ।”
सत्ता गठबन्धनभित्र यसअघि पटक–पटक अर्ली इलेक्सनमा जाने विषयमा छलफल चलेको थियो । स्थानीय निकायको निर्वाचनको मिति तोक्दै गर्दा पनि दलहरुबीच तीनै तहको निर्वाचन सँगै गर्ने कि स्थानीय तहको निर्वाचन पहिला गर्ने भन्ने विषयमा मतभेद थियो । तर, चौतर्फी दबाब पछि सरकारले स्थानीय निकायको निर्वाचनको मिति तोकेको थियो । मतभेदकै बीच निर्वाचनको मिति तोकिएको कारण निर्वाचन हुने/नहुने प्रश्न उब्जीरहेको छ ।
एमालेमा चिन्ता
अर्ली इलेक्सनको विषयले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा भने चिन्ता देखिएको छ । अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको निर्वाचनलाई नगराउने योजना सत्ता गठबन्धनले बुनेको एमालेको तर्क छ ।
“अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको निर्वाचन प्रभावित पार्ने रणनीति हो भन्ने हामीले बुझेका छौं”, आइतबार संसद बैठक पछि पत्रकारसँग कुराकानी गर्दै एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भनेका छन्, “स्थानीय तहको निर्वाचनलाई पर पुर्याउने, निर्वाचनलाई गडबड गर्ने लगायतका काम हुन सक्छ, सचेत हुनुपर्छ ।”भि
एमालेले बाहिर जे–जसरी आफ्ना अभिव्यक्ति दिए पनि स्थानीय चुनावभन्दा अघि संघीय चुनाव भएमा सत्ता गठबन्धनले योजनाबद्ध रुपमै आफुँहरुलाई सिध्याउँछ भन्ने चिन्ता देखिन्छ । एमालेका कतिपय नेताहरुले दिएको अभिव्यक्तिले पनि सो दिशातर्फ संकेत गरेका छन् ।
सत्ता गठबन्धनका दलहरुभित्र तीनै तहको निर्वाचन वा संघीय तहको निर्वाचन पहिला भन्ने विषयमा बढी बहस केन्द्रीत छ । उनीहरु तीनै तहको निर्वाचन वा संघीय तहको निर्वाचनमार्फत एमालेलाई गठबन्धनको बलमा सिध्याउने योजनामा छन् । चुनावमा गठबन्धन नै बनाएर जाने विषयमा पनि उनीहरुबीच छलफल भइरहेको छ ।
भिडियाे समाचार
वि.सं.२०७८ फागुन २२ आइतवार १६:३४ मा प्रकाशित






























