काठमाडाैं । रुसले आइतबार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो। त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए । त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई नो–फ्लाई जोनको लागि आफ्नो निवेदन नवीकरण गर्न प्रेरित गर्यो।
जेलेन्स्कीले आइतबारलाई ‘कालो दिन’ भने र सैन्य आधारमा हुने कुनै पनि गतिविधिले रुसी क्षेत्रलाई धम्की नदिने बताए। यसैबीच एक अमेरिकी पत्रकार पनि आइतबार मारिएका थिए भने अर्का एक जना घाइते भएका थिए । पत्रकार सवार गाडीमाथि कीभ बाहिर रुसी सेनाले गोली प्रहार गरेको थियो। यसैबीच, थुप्रै क्षेत्रहरूमा जारी लडाइँले युक्रेनमा थप पीडा ल्याएको छ र अन्तरराष्ट्रिय समुदायलाई समेत आक्रोशित बनाएको छ।
जारी द्वन्द्ले तेस्रो हप्तासम्म आइपुग्दा २५ लाखभन्दा बढी मानिसहरूलाई युक्रेन छोड्न बाध्य पारेको छ। हजारौं निहत्था नागरिक र सैनिक मारिएका छन्। थुप्रै अङ्गभङ्ग भएका छन् । शहर बमबारुद र आगोको मुस्लोले छोपिएको छ। रुस र युक्रेनबीचको अर्को चरणको वार्ता सोमबारको लागि निर्धारण गरिएको छ । राष्ट्रपति जेलेन्स्कीले वार्ता जारी राख्ने बताउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकको लागि प्रतीक्षारत रहेको बताएका छन्।
के भइरहेछ पश्चिमी युक्रेनमा ?
युक्रेनी अधिकारीहरूले आइतबार पोल्याण्डको सीमाबाट मात्र २५ किलोमिटर ९१५ माईल० टाढा रहेको याभोरिभ सैन्य दायरामा ३० भन्दा बढी क्रुज मिसाइल प्रहार गर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको बताएका छन् ।
प्रशिक्षण आधार शिविरमा १८ दिनको आक्रमणमा अहिलेसम्म प्रहार गरिएको सबैभन्दा पश्चिम तर्फको लक्ष्य जस्तो देखिन्छ। सो क्षेत्रमा प्रायः संयुक्त राज्य अमेरिका र अन्य सहयोगी राष्ट्रहरूले युक्रेनी सेनालाई तालिम दिँदै आएका छन् । जसलाई अन्तरराष्ट्रिय शान्ति स्थापना र सुरक्षा केन्द्रका रूपमा समेत बुझाउने गरिन्छ । त्यस शिविरमा अन्तरराष्ट्रिय नेटो अभ्यास पनि आयोजना गरिएको छ।
जुन विषयको चिन्ता रूसले बारम्बार उठाइरहने गरेको थियो। रुसले ३० सदस्यीय नेटो गठबन्धन रूसको सिमानाको नजिक गइरहेको र सुरक्षा खतरा बढिरहेको आकंलन गरिरहेको छ । रुसले युक्रेनलाई नेटोमा सामेल हुने आफ्नो महत्वाकांक्षा त्याग्न आग्रह गर्दै आएको छ ।
आक्रमणपछि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीबीएस न्यूजको ‘फेस द नेसन’मा कि यदि रूसले नेटो देशहरूमा आक्रमण गरे नेटोले जवाफ दिने बताएका छन्। जेलेन्स्कीले पश्चिमी नेताहरूलाई आधार शिविर खतरामा रहेको बताउँदै प्रश्न गरेका छन्, “यदि हाम्रो आकाश बन्द गर्नुभएन भने रूसी मिसाइलहरू (तपाईंको क्षेत्र) नेटो देशका नागरिकहरूको घरमा खस्नसक्छ ।”
यद्यपि सैन्य विश्लेषकहरूले भने नो–फ्लाइ जोन असम्भव रहेको बताएका छन् । अमेरिका र यसका सहयोगीहरूले यस्तो कदमले युद्ध बढाउन सक्छ भन्ने विश्वास गरेका छन् । रुसी हवाई आक्रमणले पश्चिमी युक्रेनको अर्को शहर इभानो–फ्रान्किभस्कको विमानस्थलमा पनि आक्रमण ध्वस्त पारेको छ । जुन ल्भिभको दक्षिणमा रहेको युक्रेनको सीमानाबाट २५० किलोमिटर (१५५ माइल) टाढा छ।
युक्रेनी शरणार्थीहरूको पछिल्लो अवस्था के छ ?
युक्रेनबाट छिमेकी देशहरूमा आउने मानिसहरूको संख्या गत हप्तामा कम भएको देखिन्छ । शरणार्थीहरूको विनाश र मृत्युको पीडादायी विवरणहरू भने जारी नै छन्।
पोल्याण्डको प्रजेमिसलको रेल स्टेसनमा शरणार्थीहरूले आफ्नो सुरक्षाको यात्राको क्रममा खचाखच भरिएका रेलहरूमा यात्रा गरेको र ‘एक अर्कामा माथि खचाखच सुतिरहेका मानिसहरूको कारूणिक दृश्य’ वर्णन गरेका छन्। रुसी क्षेप्यास्त्रहरूले सैन्य तालिम केन्द्रमा प्रहार गरेको पश्चिमी क्षेत्रबाट जाने क्रममा केहीले विस्फोटको आवाज सुनेको बताएका छन्।
यसैबीच डिनिप्रोकी २५ वर्षीया एलिजाभेटा ज्मिभस्कायाले भनिन्, “आकाश रातो भयो।” फेब्रुअरी २४ मा युक्रेनमा रुसको आक्रमण शुरु भएयता १५ लाखभन्दा बढी शरणार्थी पोल्याण्ड आइपुगेका छन् ।
पोल्यान्डका सीमा गार्डका प्रवक्ता अन्ना मिकाल्स्काले शरणार्थीको संख्या एक हप्ता अघि १ लाख ४२ हजारको तुलनामा शनिबार भने कम भएको बताएकी छिन् । जेलेन्स्कीले मानवीय कोरिडोरले छ दिनमा १३०,००० भन्दा बढी मानिसहरूलाई बचाएको छ दाबी गरेका छन्।
रुस–यूक्रेन वार्ता के भइरहेको छ ?
युक्रेनमा पूर्ण युद्धविराम स्थापना गर्ने वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। क्रेमलिनका प्रवक्ताका अनुसार वार्ताको अर्को चरण सोमबार भिडियो लिङ्कमार्फत हुनेछ । जेलेनेस्कीले यी वार्ताहरू दैनिक चलिरहेको बताएका छन् । उनले पुटिनसँग भेट्नको लागि बारम्बार फोन गरिरहेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सोमबार रोम पठाएका छन् । बेइजिङले रुसी गलत सूचनालाई बढावा दिइरहेको छ र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न मद्दत गर्न सक्छ भन्ने चिन्ताको बीचमा बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सोमबार रोम पठाएका हुन् ।
ह्वाइट हाउसले वार्ता क्षेत्रीय र विश्वव्यापी सुरक्षामा युद्धको प्रभावका विषयमा केन्द्रित हुने बताएको छ। जारी युक्रेन–रुस द्वन्द्व र वार्ताको प्रयास अन्तरराष्ट्रिय चासोको विषय बनेको छ।
युद्धको असर विश्व राजनीतिका अतिरिक्त विश्वबजारमा समेत प्रत्यक्ष देखिएको छ। युद्ध लम्बिदै जाने सङ्केत देखिएको छ । यसका बाछिटाहरू कहाँसम्म र कहिलेसम्म देखिन्छ सहजै आँकलन गर्न सकिने अवस्था छैन ।
वि.सं.२०७८ चैत ३ बिहीवार १३:३४ मा प्रकाशित






























