back
CTIZAN AD

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

वि.सं.२०८३ जेठ २४ आइतवार

315 

shares

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।

सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ ।

पहिलो पटक रक गार्डेन पुग्ने आगन्तुकहरू त्यहाँका चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्य चकित हुने गरेका छन् । कतिपय ठाउँमा मानव हातले कलात्मक रूपमा कुँदिएको जस्तो, कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारी झै देखिने हुँदा धेरैले प्रकृतिको अनुपम सिर्जना भनेर चर्चा गर्ने गर्छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र ढुङ्गाको जङ्गल जस्तै देखिन्छ, जसले आगन्तुकलाई एकैपटक रहस्य, सौन्दर्य र शान्तिको अनुभूति गराउँछ ।

पछिल्लो समय यो गार्डेन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका विभिन्न स्थानबाट दैनिक रूपमा मानिसहरू यहाँ घुम्न आउने क्रम बढ्दो छ । स्थानीयका अनुसार यहाँको स्वच्छ वातावरण, चिसो मौसम र प्राकृतिक दृश्यावलोकनले सहरको भीडभाडबाट केही समय टाढा पुगेर मानसिक ताजगी प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले पछिल्लो समय प्रचारप्रसारसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको बताउनुभयो । “प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यो क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै छ । हामीले यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिएका छौँ”, उनले भने ।

यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले योजनाबद्ध रूपमा विभिन्न कामअघि बढाएको छ । हाल पर्यटकहरूको सहजताका लागि शौचालय, विश्रामस्थल (ट्रस्ट) तथा मन्दिर निर्माण गरिएको छ । यी संरचनाले आगन्तुकको बसाइँलाई थप सहज र आरामदायी बनाएको जानकारी दिँदै वडाध्यक्ष आचार्यले गार्डेनको प्रचारप्रसारलाई प्राथमिकतामा राख्दै दीर्घकालीन पर्यटन विकास रणनीति तयार पारिरहेको बताए ।

नगर क्षेत्रमै पहिचान र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएकाले यसको विकास र उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीय युवा नारायण आचार्यको भनाइ छ । “हाल जिल्लाभित्रबाट बढी पर्यटक आउने गरेका छन्, तर बाहिरी जिल्लासम्म यसको पहिचान पु¥याउन सकियो भने यसको महत्त्व अझ बढ्नेछ । त्यसका लागि स्थानीय तहले थप योजना अगाडि बढाउन आवश्यक छ”, उनले भने ।
रक गार्डेनको अर्को विशेषता भनेको यहाँबाट देखिने विशाल भू–दृश्य हो । यस स्थानबाट सन्धिखर्क नगरपालिका मात्र होइन, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकालगायत पाल्पा र प्युठान जिल्लाका केही भूभागहरू अवलोकन गर्न सकिन्छ ।

लुम्बिनी र सुपा देउराली मन्दिरमा आउने पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र रक गार्डेनसम्म ल्याउन सकियो भने जिल्लाको पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुन सन्धिखर्कका स्थानीय व्यवसायी डिलाराम भुसालले बताए । “यसले होटल, यातायात, व्यापारलगायत स्थानीय व्यवसायमा प्रत्यक्ष लाभ पु¥याउनेछ ।”

रक गार्डेनलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । “पर्यटन विकाससँगै स्थानीयको आयआर्जन बढाउने र आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो”, उनले भने ।

लुम्बिनी र सुपा देउरालीमा आएका पर्यटकलाई खाँचीकोट भगवती मनिदर तथा राज्य, सन्धिखर्कको सिद्धेश्वर मन्दिर, अर्घा भगवती हुँदै यस स्थानमा लैजाने गरी योजना बनाउन सकेमा यस स्थानमा पर्यटकहरू थप बढ्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

“प्रकृतिले आफैँ निर्माण गरेको डिभर्नाको यो अद्भूत ढुङ्गाको संसार साँच्चिकै नेपालकै नमूना पर्यटकीय सम्पदा बन्ने सम्भावना बोकेको छ । यसको व्यापक प्रचारप्रसार, संरक्षण र पूर्वाधार विकासमा सरोकारवाला सबै पक्षको ध्यान पुग्न सके रक गार्डेन अर्घाखाँचीको पर्यटन नक्सामा चम्किलो गन्तव्यका रूपमा स्थापित हुने सम्भावना छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले भने ।

रक गार्डेन केवल एउटा प्राकृतिकस्थल मात्र नभई अर्घाखाँचीको समृद्ध भविष्यको आधार बन्न सक्ने अमूल्य सम्भावनाको क्षेत्र भएकाले नगरले यसका विकासमा ध्यान दिइरहेको उनकोे भनाइ छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र विशाल सम्भावनाले भरिएको यो क्षेत्रले जिल्लाकै पहिचान स्थापित गर्ने सम्भावना रहेकाले विकासका लागि सबैले ध्यान दिन आवश्यक रहेको खनालले बताए ।

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...