काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोग अभियान तीव्र बनाएको छ।
एनआरएनएले नुवाकोटमा रु. ५० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको जनाएको छ। भदौ ११ र १२ गते गरी उपलब्ध गराइएको राहत सामग्रीमा ५०० थान त्रिपाल, ५०० थान सोलार लाइट, ५०० परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, ब्ल्याङ्केट, खानेपानी र औषधिलगायतका सामग्री छन्।
एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरूको टोलीले जिल्ला विपद् व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा राहत वितरण गरेको छ। पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयलगायतका आश्रयस्थलमा रहेका बाढी प्रभावितलाई प्रत्यक्ष रूपमा राहत सामग्री वितरण गरिएको संघले जनाएको छ।
संघको राहत टोलीसँगै नुवाकोट पुगेको स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, औषधि वितरण तथा स्वास्थ्य परामर्श दिइरहेको छ। थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि गरिनेछ।
यसैबीच, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत सहयोग रकम संकलन अभियानसमेत सुरु गरिएको एनआरएनएले जनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गरिने र सहयोग रकमको पारदर्शी विवरण सार्वजनिक गरिने संघका प्रवक्ता सोमनाथ सापकोटाले बताएका छन्।
बाढीका कारण प्रत्यक्ष रूपमा पुग्न कठिन क्षेत्रमा जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी थप राहत सामग्री पुर्याइने एनआरएनएले जनाएको छ। संघले विश्वभर रहेका आफ्ना एनसीसी, नेपाली समुदाय तथा गैरआवासीय नेपालीलाई उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माण अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वानसमेत गरेको छ।
वि.सं.२०८३ भदौ १२ शुक्रवार १८:०२ मा प्रकाशित






























