काठमाडौं । पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री खानले देशलाई सम्बोधन गर्दै संसद भंग गरेर फेरि चुनाव गराउन राष्ट्रपतिलाई सिफारिस गरेको बताए ।
राष्ट्रिय सभामा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका नाममा सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका छन् । उनले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।
“देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरू कसैलाई छैन, तर यहाँका जनताले निर्णय गर्नेछन्।” खानले भने, “आज स्पिकरले अस्वीकार गरेको अविश्वासको प्रस्तावका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु। हिजोदेखि सबैजना निराश थिए, मलाई सोध्दै, म उनीहरूलाई नआत्तिन भन्न चाहन्छु।”
यसअघि पाकिस्तानको राष्ट्रिय सभामा विपक्षीको अविश्वासको प्रस्तावलाई उपसभामुखले संविधानको धारा ५ को उल्लङ्घन भएको भन्दै खारेज गरिदिएका थिए ।
— Dr. Shahbaz GiLL (@SHABAZGIL) April 3, 2022
‘अविश्वासको प्रस्ताव असंवैधानिक’
प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदान गर्नुअघि नै राष्ट्रिय सभाका उपसभामुखले अविश्वासको प्रस्तावलाई असंवैधानिक भन्दै अस्वीकार गरेका थिए। यो अधिवेशन विधानसभाका उपसभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो ।
उपसभामुखले यो अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत भएको बताए ।
बीबीसी संवाददाता हुमैरा कंवलले राष्ट्रिय सभामा पुग्ने सदस्य संख्या बढ्दै गए पनि प्रधानमन्त्री इमरान खान पुग्न नसकेको बताइन् । हुमैराका अनुसार ठूलो संख्यामा बेन्चहरू खाली देखिएका छन् ।
वि.सं.२०७८ चैत २० आइतवार १३:५३ मा प्रकाशित






























