काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज जारी गरेकोे शुभकामना सन्देशमा ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
“ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु¥याएको छ”, सन्देशमा भनिएको छ, “इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ ।”
सन्देशमा विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्यको रूपमा रहिआएको उल्लेख गर्दै भनिएको छ, “मुलुकमा रहेका अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ, संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”
उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिएका छन् । इदका अवसरमा आज शुभकामना दिँदै उनले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक रहेको उल्लेख गर्दै उनले विभिन्न समुदायका चाडवाड, रितिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै लगेको बताएका छन् ।
उपराष्ट्रपति पुनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इदउल फित्रले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको प्रधानमन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
वि.सं.२०७९ वैशाख २० मंगलवार ०९:०४ मा प्रकाशित






























