काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको किल्ला भनिएको रोल्पाको थबाङ गाउँपालिकामा माओवादी केन्द्र जितेको छ । आइतबार सम्पन्न मतगणनामा केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार ऋषिकेशव बुढामगर २१२२ मतसहित विजयी भएका हुन् ।
बुढामगरले विप्लव नेतृत्वको नेकपाको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका दर्जित रोकामगरलाई हराएका हुन् । बुढामगरले विप्लवका रोकामगरले भन्दा ६१७ मत बढी ल्याएका थिए ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शर्मिला बुढामगर २ हजार १२२ मत ल्याउँदै विजयी भएकी छिन् । उनले विप्लवसहितको कांग्रेस, एमालेको तर्फबाट उम्मेदवारी दिएका रायबहादुर पुनलाई हराएकी छिन् ।
माओवादी केन्द्र पालिकाको ५ वडामध्ये ४ वडा जितेको छ । वडा नं. ४ मा भने एमालेका हिक्मत घर्तीमगर विजयी भएका छन् ।
रोल्पाको थवाङ माओवादी केन्द्रलाई हराउन विप्लवसहित एमाले–कांग्रेसको गठबन्धन बनेको थियो । तर, निर्वाचनमा भने गठबन्धन पारजित भएको देखिएको छ । माओवादी जनयुद्धको उद्गमनस्थल थवाङमा यसअघि पटक–पटक भएका निर्वाचनमा शुन्य मत खस्दै आएको थियो ।
वि.सं.२०७९ जेठ १ आइतवार १५:३७ मा प्रकाशित





























