Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

‘जन्मिएको माटो र खेलेको आँगन कहिल्यै नबिर्सनुस्’



letter2प्रवासमा जीवन बिताइरहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा न्यानो माया ।
भनिन्छ, मानिस जन्मँदैदेखि आफ्नो भागको दु:ख र सुख लिएर जन्मिएको हुन्छ । मानिसलाई सुखमा रमाउन र दु:खमा रुन अनि चुनौतीको सामना गर्न सक्ने शक्ति पनि प्रकृतिले दिएको हुन्छ । त्यसैले त मानिस धैर्यवान भएर जीवनको चुनौतीको सामना गर्न सक्छ । विदेश पुगेका हाम्रा लाखौँ दाजुभाइ दिदीबहिनी यस्ता धेरै चुनौतीहरूलाई धैर्यवान भएर भोगिरहेका छन् ।

प्रसङ्ग आफ्नै जोड्न चाहन्छु । म जीवन चलाउने बहाना र बेरोजगारीको बाध्यतामा मातृभूमि छोडेर पाकिस्तानको कराँची हुँदै १९९४ तिर लेवनान पुुगेको थिएँ । लेवनानको राजधानी जबु एयरपोर्टबाट जब म बाहिर निस्किएँ, त्यहाँको कहाली लाग्दो दृश्यले केही क्षण त स्तब्ध बनायो । भत्केका भवन, अफिस, कलकारखाना बाटो घाटो केही पनि सग्ला थिएनन् । मनमा उराठ लाग्थ्यो । लेबनान १० वर्षसम्म युद्ध भएको देश थियो, त्यसैले त लेबनान संसारैभरी युद्धभूमिका रूपमा परिचित भएको रहेछ । लेबनान जति उराठ लाग्दो र दिक्क लाग्दो भएपनि आफ्नो देश छोडेर प्रदेश पुुगेको म आफ्नो लक्ष्य लिएर अगाडी बढ्नु नै थियो ।

विभिन्न समयमा भएका युद्धबाट बाँचेर लेवनानलाई सँधैको लागि छोडेर २०१३ फेबु्रअरी ३ मा आफ्नो जन्मभूमि फर्किएँ । लेवनानको द्वन्द्वमा परेर कुनैपनि नेपालीले ज्यान गुमाउन नपरोस भन्ने सोच्ने गर्दथेँ । नेपालीलाई समस्या परेको बेला सहयोगको हात लिएर नेपालीका बीचमा पुगेको र समस्या समाधानपछि खुसी भएको क्षण कहिल्यै बिर्सन सक्तिन ।

आज किन हो किन ती दिनहरू एकाएक सम्झनामा आएका छन् । नि साथीहरूको सम्झनामा आँखा रसाएर आएका छन् । अनि यहि पत्रमार्फत केही लेख्ने जर्मको गरेको छु । साथीहरू, तपार्ईंहरू आफ्नो देश छोडेर प्रवासमा भएपनि नेपाली एकता र सद्भावको लागि, सधैं एउटै परिवार जस्तो भएर अगाडी बढ्नु होला । कोही अगाडी बढ्न खोज्यो भने त्यसको खुट्टा तान्ने होइन की हात दिएर सहयोग गर्नुहोला । किनकी हामी त नेपाली जाति हौँ । नेपाली जातिको उदाहरण संसारभर फैलाउनु छ र भोलि फेरि यहि देशमा फर्कनु छ, सबै मिलेर यहि देशमा पौरख गर्नुछ । बिदेश त हाम्रो केवल बाध्यताको साथी हो । हामीले हामी जन्मिएको माटो र खेलेको आँगन कहिल्यै विर्सनुहँदैन ।

यतिबेला गाउँबस्तिबाट प्रत्येक घरका एकजना सदस्य विदेशमा पुगेको पाइन्छ । परिवारको एक सदस्य विदेशमा छ भने सम्पूर्ण परिवारको आँखा पनि त्यतैतिर हुन्छन् । उसले विदेशमा जस्तो पीडा भोगेपनि उनीहरूको आस गरेर बस्ने हाम्रो परिवारको बाध्यता छ ।
अर्कोतर्फ अमेरिका–यूरोप गएका कतिपय छोराछोरी उतै भासिँदा परिवारमा अर्को पीडा पनि बढेको छ । त्यस्ता कति परिवारको मुखबाट सुन्ने पनि गरेको छु “छोराछोरी पंख लगाएर टाढा उडिसके सायद फर्केर आफ्नो बासस्थानमा आउने बाटो बिर्सिए । बुढा भएका बाबुआमाको अरु केही आस हुन्न साथी हो । यतिमात्र हो, जाडो हुँदा न्यानो लगाउन पाउनु तातो खान पाउनु, कतै धर्म, कर्म, तिर्थ गर्न जान पाउनु तथा बढी भन्दा बढी समय आफ्नो परिवार र नाति नातिनासँग रमाउनु पाउनु ।” हो, यतिमात्र उनीहरूले आस गरेका हुन्छन् । परिवार तथा बाबु आमाको सानो भन्दा सानो आशलाई निरासामा बदल्ने काममा कोही साथीहरू नलाग्नुहोला ।

खाडीमा आफ्नो श्रम र पसिना बगाइरहनुु भएका साथीहरूलाई अर्को अनुरोध के पनि गर्न चाहन्छुु भने तपार्ईंहरू सँधै मनमा रहेको रिस र द्वेषलाई टाढा राखेर आफ्नो उद्देश्यलाई नभुली आफ्नो काम र कर्तव्यका साथ परिवार र जन्मभूमीलाई सम्झेर अगाडी बढ्नु होला । पराइ देशमा रहँदा सदैव होसियार रहनुहोला, सानो गल्ती भए पनि त्यसलाई ठूलो बनाएर फसाउन सक्छन् । कतिपय फसिरहेका पनि छन् । हाम्रो सोझोपनको फाइदा अरुले लुटीरहेको पनि मैले पाएको छु, अनि भोगेको पनि छु । अरुले गरेका गल्ती हाम्रो टाउकोमा थुपारी दिएर आफूहरू बच्छन् । त्यसैले सबैले सचेत हुन जरुरी छ की, हामीले गरेको सानो गल्तीका कारण हाम्रो जन्मभूमि नेपालसँग जोडिएर नेपाली जातिको नाम आउने गर्छ । त्यसैले साथी हो, प्रदेश त क्षणिक मात्र हो अनि यो हाम्रो बाध्यता हो । हामी देश फर्कनुपर्छ । यहि देशको माटोमा आफ्नो श्रम अनि पसिना फलाउनु छ फुलाउनुछ । बारिका पाटा, खेतका कान्लामा नेपाली श्रम र पसिना फुलाउनु छ । परिवारसँग रमाएर सुख दु:ख बाडेँर बस्नु छ ।

ताप्लेजुङ मेची ८ फूलबारी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कर्णाली । लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका