काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग एपमार्फत रेमिटेन्स सेवाको सुरुवात गरेको छ । डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै आएको बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको हो ।
बैंकका ग्राहकहरुले अब नेपालभरि आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस सेवा प्रयोग गरी ग्राहकहरुले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२,००० भन्दा बढि एजेन्ट/सब-एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्ने छन् ।
बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षिततवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क, ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान गर्नका लागि ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको बैंकले जनाएको छ ।
बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१-५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.comमा ईमेल गरी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७९ जेठ १८ बुधवार १५:५८ मा प्रकाशित





























