back

देउवा किन लागे लोसपालाई सरकारमा भित्र्याउन ?

वि.सं.२०७९ जेठ २५ बुधवार

177 

shares
NTC AD
Global IME AD

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने तयारी थालेका छन् । स्थानीय तहको निर्वाचन अगाडि नै सरकारमा ल्याउने तयारी गरेका देउवाले निर्वाचन लगत्तै छलफललाई बढाएका हुन् । सरकारमा सहभागि हुने विषयमा दुई पक्षबीच निरन्तर संवादसमेत भइरहेको छ ।

देउवाले मन्त्रालय फुटाएरै भएपनि लोसपालाई भित्र्याउने तयारी थालेको बुझिएको छ । बालुवाटार स्रोतले बताएअनुसार देउवाले दुई मन्त्री र एक राज्यमन्त्रीसहित लोसपालाई भित्र्याउने तयारी थालेका छन् । सो विषयमा प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच मोटामोटी सहमति भइसकेको बुझिन्छ ।

देउवाले हालसम्म रिक्त रहेको रक्षा मन्त्रालयलमा आफुँ निकटलाई तान्दै अन्य मन्त्रालय रिक्त गराएर लोसपालाई दिने तयारी थालेका छन् । बताइएअनुसार देउवाले एकातिर केही मन्त्रालय फुटाउने तयारी गरेका छन् भने केही राज्यमन्त्रीलाई बिदाइको तयारी पनि गरेका छन् । बताइएअनुसार सरकारमा भित्र्याउने पृष्ठभूमि तयार गर्नकै निम्ति लोसपाले देउवालाई ११ बुँदे मागपत्र बुझाएको हो ।

No description available.

पृष्ठभूमि बनाउन ११ बुँदे मागपत्र

सरकारमा सहभागि हुने विषयमा छलफल बढाएको लोसपाले मंगलबार प्रधानमन्त्री देउवालाई ११ बुँदे माग पत्र बुझाएको छ । लोसपाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्नेदेखि आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्तासम्मका माग आफ्नो मागपत्रमा राखेको छ ।

मागपत्रमा लोसपाले रेशम चौधरीको रिहाइको माग पनि अघि सारेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, विगतमा गरिएका सम्झौताहरु लागु हुनुपर्ने, मधेशमा बजेट न्यायोचितपूर्वक वितरण हुनुपर्ने लगायतका माग छन् ।

कांग्रेसका एक नेता लोसपालाई सरकारमा भित्र्याउने पृष्ठभूमिका लागि नै मागपत्र बुझाइएको बताउँछन् । “उहाँहरुलाई आउने पृष्ठभूमि तयार गर्नकै लागि मात्रपत्र बुझाइएको हो, मागपत्रमा विषयमा पनि सरकार सकारात्मक नै छ”, उनले भनेका छन्, “कतिपय पुरा भइसकेका छन्, कतिपय हुन बाँकी छन् । प्रधानमन्त्रीले सम्बोधन हुने तहसम्म हुन्छ भन्नुभएको छ ।”

देउवा र लोसपाबीच आगामी निर्वाचनसम्मै सहकार्यको विषयमा पनि छलफल चलेको उनले बताए । उनले भनेका छन्, “हिजो सँगै रहेका साथीहरु पनि हुनुहुन्छ, उहाँहरुको प्रस्ताव उचित नै छ, तथापी हामी अहिलेको गठबन्धन तोड्ने पक्षमा छैनौ ।”

सत्ता साझेदारभित्रको द्धन्द्धले देउवा सशंकित

स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)भित्र आन्तरिक द्धन्द्ध चर्किएको छ । एकातिर एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको विषयले रडाको छ भने जसपाभित्र गठबन्धनमा रहने वा नरहने भन्ने कोणबाट विवाद देखिन्छ ।

एकीकृत समाजवादीले मन्त्री फेरबदल गर्न गरेको निर्णय आन्तरिक द्धन्द्ध बढ्ने देखेसँगै देउवाले रोकिदिएका थिए । मन्त्री फेरबदल गर्न रोकिदिएको प्रति एसका नेताहरु आक्रोशित छन् । तर, देउवालाई एस विभाजन तर्फ जाने त होइन आशंका जन्मिएको छ ।

यता, पछिल्ला गठबन्धनको बैठकमा असहमति दर्ज गरेको जसपाले सत्ता साझेदार इतरका शक्तिहरुसँग संवाद बढाएको छ । निर्वाचन लगत्तै एमाले र जसपाका नेताहरुबीच बाक्लिएको भेटवार्ताले पनि देउवामा आशंका जन्माएको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहकार्य गर्ने तहसम्मको छलफल भएको थियो ।

गठबन्धन भत्काउने शक्ति भित्रभित्रै देखिपछि लोसपालाई विश्वासमा लिन खोजिएको प्रधानमन्त्री निकटस्थ एक नेता बताउँछन् । “के हुन्छ भन्न सकिने स्थिति छैन्, गठबन्धन भत्काउने शक्ति भित्रभित्रै लागिरहेको देखिन्छ”, देउवा निकटस्थ एक नेताले भनेका छन्, “जे पनि हुन सक्छ भन्ने ठानेर नै प्रधानमन्त्रीले लोसपालाई पनि विश्वासमा लिने रणनीति बनाउनुभएको हो ।”

वि.सं.२०७९ जेठ २५ बुधवार १३:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD