काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एक विद्यालयमा एक खेलकुदको विकास गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पौडेलले खेलकुद क्षेत्रको विकास विद्यालय तहदेखि नै हुने भएकाले एक विद्यालयमा एक खेलकुदको विकास गर्ने बताएका हुन् ।
मन्त्री पौडेलले एक स्थानीय तह एक खेल पूर्वाधार निर्माण गर्ने सरकारको नीतिअनुसार विगतमा निर्माणाधीन खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट जाने प्रस्ताव गरेको बताए । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गतराज वैदेशिक भ्रमणमा रहेकाले उनको सट्टामा शिक्षामन्त्री पौडेलले जवाफ दिएका हुन् ।
मन्त्री पौडेलले खेलाडीहरुको संरक्षण र विकासका लागि यस आर्थिक वर्षमा खेलकुद बीमाको अवधारणाको विकास गरिएको, दुर्घटनामा परेको खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको बताए । उनले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडी जीवन बीमा, खेलाडी तथा प्रशिक्षण स्वास्थ्य बीमा, खेलाडी प्रोत्साहन पुरस्कार, ओलम्पिक खेलाडी भत्ता लगायतका विषयमा बजेट व्यवस्था गरेको बताए ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार १४:०८ मा प्रकाशित



























