काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीहरुको नियुक्तिसम्बन्धी बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ । राष्ट्रपति कार्यालयबाट पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति सर्वोच्च अदालतमा नआएपछि सुनुवाइ स्थागित भएको हो ।
कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दा बुधबारका लागि सुनुवाइ तोकिएको थियो । तर, राष्ट्रपति कार्यालयबाट सक्कल फाइल नआएपछि सुनुवाइ स्थगित गरिएको हो ।
इजलासले पुनः कागजात झिकाउने आदेश गरेको छ । संवैधानिक इजलासले गत चैत ९ गते नै सक्कल प्रति झिकाउने आदेश दिएको भएपनि अहिलेसम्म उक्त पत्र नआएको भन्दै पुनः कागजात झिकाउने आदेश गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर ३० मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी संसदीय सुनुवाईविनै ५२ संवैधानिक पदाधिकारीको नियुक्ति गरेका थिए । प्रतिनिधि सभासमेत विघटन भएको अवस्थामा त्यसरी गरिएको नियुक्तिमाथि प्रश्न उठाउँदै संवैधानिक अदालतमा रिट परेको थियो । तर, एक वर्षभन्दा बढी समय भइसक्दा पनि यो रिटको किनारा लागेको छैन ।
वि.सं.२०७९ असार ८ बुधवार १४:३३ मा प्रकाशित



























