काठमाडौं । हाल देशैभरी सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आगामी ३ दिनसम्म प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न जिल्ला र आसपास भई बहने स–साना नदीहरुमा बहाव बढ्ने,केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०७९ असार १७ शुक्रवार ०९:२६ मा प्रकाशित






























