काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता अनुमोदन हुनु केही दिनअघि त्यसलाई असफल बनाउने उद्देश्यसहित माओवादी केन्द्रले नेकपा (एमाले)सँग बेग्लै गठबन्धनको प्रस्ताव गरेको खुलासा गरेका छन् । उनका अनुसार माओवादी केन्द्रको तर्फबाट गरिएको त्यस्तो प्रस्तावलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अस्वीकार गरेको उनले बताए ।
“संददबाट अनुमोदन गरिनु भन्दा केही दिन अघि एमसीसी अनुमोदनलाई संसदबाट मिलेर असफल पारौं र नयाँ गठबन्धन बनाएर अघि बढौं भन्ने प्रस्ताव लिएर गएका थियौं”, नेता श्रेष्ठले भनेका छन्, “उहाँ (केपी शर्मा ओली)ले त्यसबेला पनि एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरितका कुनै प्रावधान नरहेकाले यो त्यस्तो विषय होइन भनेर जोड दिनुभएको थियो, हाम्रो द्विपक्षीय वार्तामा एमालेका अन्य तीन जना उच्च स्तरीय नेताहरु पनि सामेल हुनुहुन्थ्यो ।”
एमसीसी अनुमोदनका विषयमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्ति झुट भएको श्रेष्ठको दाबी छ । संसदीय प्रक्रियाबाट पारित गराउनुपर्ने अवस्था ओलीको कारण आएको उनले बताए ।
‘उहाँले संसद कमजोर भएकाले त्यो पारित गर्यो, त्यसैले त्यसमा आफ्नो कुनै दोष वा कमजोरी छैन। यो पनि सत्य होइन”, श्रेष्ठले भनेका छन्, “केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो ।”
ओलीले तत्कालीन नेकपाको केन्द्रीय समितिलगायतका बैठकमा एमसीसी विशुद्ध आर्थिक विकासको परियोजना भएको र यसमा कुनै राष्ट्रिय सार्वभौमिकता एवम् राष्ट्रिय हित प्रतिकूलका प्रावधान नभएको तर्क गरेको श्रेष्ठले भनेका छन् ।
वि.सं.२०७९ साउन १ आइतवार १६:०२ मा प्रकाशित






























