back
CTIZAN AD

सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला

वि.सं.२०७३ चैत १२ शनिवार

648 

shares

rolpali-mahila

 रोल्पा  । अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता डाँगी अहिले जङ्कोटस्थित माइतमै बसेर आठ वर्षीय छोरालाई पढाइ रहेकी छिन् ।अहिले उनको उमेर २७ वर्ष भयो । ससुरासँगै काठमाडौँ गाडी चलाउन हिँडेका उनका श्रीमान्ले उतै अर्की श्रीमती ल्याएपछि जीवनका बाँकी दिन सँगसँगै बिताउने उनको चाहना सपनामा परिणत हुन पुग्यो ।

श्रीमान् नै अर्काको भइसकेपछि त्यही श्रीमान्को घर बस्नुको के अर्थ भयो र ? उनले नाबालक छोरो च्यापेर जङ्कोट माइत आइन् । छोरासँगै माइत बसेकी डाँगीले श्रीमान्बाट कुनै सम्पत्ति नलिएर तीन वर्ष अगाडि अदालतमा मुद्दा दायर गरेर छोडपत्र गरिन् । कक्षा २ मा अध्ययन गरिरहेको छोरो नै उनको भविष्यको सहारा भएकाले छोराकै मुख हेरेर बाँकी जीवन बिताइरहेको उनी बताउँछिन् ।

दस जोड दुई कक्षासम्म अध्ययन गरेकी रोल्पा खुंग्रीकी सुस्कता सिंहले १८ वर्षकै उमरेमा प्रेम विवाह गरिन् । विवाह गरेको केही वर्ष त निकै माया गरे श्रीमान्ले । सुरुसुरुमा घरखर्चसमेत पठाउने गरेका उनले पछि त्यो खर्च पठाउन छाडे । दैनिकजसो फोन गर्ने श्रीमान्ले विस्तारै महिनौँ बित्दासमेत फोन गर्न छाडेपछि उनको मनमा चिसो पस्यो । मतलव गर्न छाडेको र बाहिरै अर्कीसँग लागेको थाहा पाएपछि उनले पनि सम्बन्ध विच्छेद गरिन् ।

सिंह अचेल गाउँकै एक सहकारी संस्थामा काम गर्छिन् । श्रीमान् विदेश गएर कमाइ गर्ने, आफूले घरव्यवहार चलाउने, कस्तो राम्रो योजना थियो उनको । ‘आफू ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो’ भने झँै उनको यो योजना भने पूरा हुन पाएन । आठ वर्षसम्मसँगै बसेका सुस्कता दम्पत्तिको बाँकी सहयात्रासँगै हुन सकेन । श्रीमान्ले घरमा वास्ता गर्न छाडेर बाहिर अर्की श्रीमती ल्याएको सुनेपछि सुस्कता सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगिन् ।

दाजुको पसलमा काम गर्ने अर्घाखाँचीका एक युवाको मायाजालमा परिन् बडाचौर–८ की जुनकुमारी सुनार । सुनारको प्रेम, जीवनसाथीका रुपमा रुपान्तरण भयो । घरबाट भागेर विवाह गरे । दस जोड दुई कक्षासम्म अध्ययन गरेकी सुनारलाई सुरुसुरुमा श्रीमान्को मायाको कमी भएन । गाउँकै विद्यालयमा दुई वर्षसम्म पढाउने काम पनि पाइन् उनले । श्रीमान्सँग अर्घाखाँचीमा रहेको घर पनि गइन् जुनकुमारी ।

श्रीमान्सँगको सम्बन्धमा खटपट भएपछि उनले एक वर्ष पहिले अदालतबाट सम्बन्ध विच्छेद गरिन् । २७ वर्ष उमेर भए पनि उनीसँग अहिले न श्रीमान् छ, न सन्तान । माइतीको सहारामा बाँकी जीवन बिताउने सङ्कल्प लिएकी छन् उनले ।

रोल्पामा श्रीमान्बाट सम्बन्ध विच्छेद गरेकी यी महिला प्रतिनिधि पात्रमात्र हुन् । सम्बन्ध विच्छेदपछि महिलाको दैनिकी कति चुनौतीपूर्ण छ भन्ने उदाहरण पनि हुन् यी । सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका श्रीमान् श्रीमतीमा आएको खटपटले सम्बन्ध विच्छेद गरेका अधिकांश रोल्पाली महिलाको अवस्था निकै पीडादायी भए पनि उनीहरु कसैको नजरमा पर्ने नगरेको नागरिक समाजका अगुवा बिना मल्लले बताउनुभयो ।

महिला हिंसा लुकाउनुहुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्ध विच्छेद बढ्दै गएको बताइएको छ । श्रीमान्ले सामान्य हिंसा गर्दा सहँदै आएका महिला श्रीमान्को अत्याचार बढेपछि अदालतबाट सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेको मेलमिलापकर्ता तीर्था आचार्यले बताउनुभयो ।

मादक पदार्थ सेवन गर्ने, परस्त्रीसँग सम्बन्ध भएका तथा घरमा पालनपोषण नगरेका कारण सम्बन्ध बिग्रिएकाहरुले सम्बन्ध विच्छेद गर्ने गरेको आचार्यले बताउनुभयो । कलिलै उमेरमा विवाह गर्ने र पछि अर्की केटीसँग लाग्ने अधिकांश श्रीमान्का कारण सम्बन्ध विच्छेद बढेको उहाँको भनाइ छ ।

यस्ता पीडित महिलालाई सामाजिक र आर्थिक सशक्तीकरण कार्यक्रम सञ्चालन गरी राज्यले सहयोग गर्नुपर्ने मानवअधिकारका लागि महिला, एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताउनुभयो ।

घर बिग्रेकी छोरी भनेर समाजमा पनि स्वीकार्यता त्यति सहजता नहुने गरेको उनीहरुको बुझाइ छ । आफ्नै माइतमा कुनै समस्या हुँदैन । समाजले सहजताकासाथ स्वीकार्न नसकेको आफूहरुको अनुभूति रहेको पीडितको गुनासो छ ।

उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन । सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद गर्नेहरुको सङ्ख्यामा यहाँ कमी आउन सकेको छैन् ।

श्रीमान्बाट सम्बन्ध विच्छेद गरी एकल जीवन बिताउँदै आएका रोल्पाका यी महिलाको सहारा बनेको छ महिला तथा बालबालिका कार्यालय । सो कार्यालयले अधिकांश यस्तै समस्या भोगेका महिलालाई छनोट गरी तीन महिने बुटिक तालिम सञ्चालन गरिरहेको महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले बताउनुभयो ।

यस्ता महिलालाई दिइँदै आएको तालिमबाट आफूहरु आत्मनिर्भर हुने उनीहरुले बताएका छन् । सल, साडी, स्विटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका उनीहरुले आधारभूत र डिप्लोमा तालिम गर्ने प्रशिक्षक सावित्रा ओलीले बताउनुभयो ।

तालिमपछि उनीहरुको मनोवल वढेका छन्, आत्मनिर्भर भएका छन्, त्यसैले पछि पनि एक्लै जीवन विताउन कुनै समस्या नहुनेमा उनीहरुको विश्वास छ । तालिमवाट सिप सिकेर गाउँपालिका र नगरपालिकाको केन्द्रमा गई व्यवसाय गर्ने योजना रहेको पनि उनीहरुले वताएका छन । रासस

वि.सं.२०७३ चैत १२ शनिवार ०९:०९ मा प्रकाशित