Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

चुनावी लेखाजोखा : प्रधानमन्त्री भइसकेका ६ नेतामध्ये कसकाे अवस्था कस्तो ?



काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ । औपचारिकरूपमा कुनै पनि दलले उम्मेदवार तय नगरेको भएपनि चुनावी क्षेत्रमा नेताहरुको चर्चा सुरु भएको देखिन्छ । अहिले विशेषतः शीर्ष नेताहरुको नाम र चुनावी क्षेत्रबारे लेखाजोखा हुन थालेको छ ।

प्रधानमन्त्रीकै जिम्मेवारीमा रहेका शेरबहादुर देउवा र अन्य पाँच पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको चुनाव पछिको हैसियत के हुने भन्ने चासो सबैलाई छ । सत्ता गठबन्धनका दलहरु स्थानीय तहको निर्वाचनमा जस्तै प्रतिनिधिसभा र प्रदेशसभामा पनि तालमेल गरेर जाने तयारीमा छन् । यस्तोमा गठबन्धनमा सहभागि नभएका दल र दलका नेताहरुको अवस्था के हुने ? चासो देखिन्छ ।

देउवालाई छैन चिन्ता

प्रधानमन्त्री शेरबहादुर देउवा अपराजित नेताका रुपमा चिनिन्छन् । २०४८ देखि निरन्तर चुनाव जितिरहेका उनी यसपटकको निर्वाचनमा पनि जित्नेमा ढुक्क छन् । २०७४ भएको निर्वाचनमा डडेलधुरा–१ मा माओवादी केन्द्र र एमालेले गठबन्धन बनाएर जाँदा पनि देउवा ७ हजार बढी मतसहित विजयी भएका थिए । देउवाले २८ हजार ४ सय ४६ मत ल्याउँदा वाम गठबन्धनका खगराज भट्टले २१ हजार ४ सय ९८ मत ल्याएका थिए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि देउवाको क्षेत्रमा कांग्रेस निकै बलियो देखिन्छ । कांग्रेसका पूर्वजिल्लासभापति कर्ण मल्लले विद्रोह गरेर कांग्रेस विपी बनाएको भएपनि कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ । वडा अध्यक्षहरुको मतलाई जोड्दा देउवाको क्षेत्रमा कांग्रेसले २२ हजार २९, माओवादी केन्द्रले १२ हजार १३ र एमालेले ७ हजार ४ मत ल्याएको छ । जसलाई हेर्दा देउवा निकै सुरक्षित देखिन्छन् ।

ओलीलाई छैन गठबन्धनको डर

पाँच दलीय गठबन्धन हुँदा स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेलाई निकै घाटा भयो । प्रतिनिधिसभा र प्रदेशसभामा त्यसको असर अझ बढी हुने चिन्ता एमालेभित्र छ । एमालेभित्र गठबन्धनको त्रास बढीरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ मा भने सबै मिल्दा पनि एमाले बलियो देखिन्छ ।

२०७४ मा भएको निर्वाचनमा ओली प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतले विजयी भएका थिए । ओलीले ५७ हजार १३९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा पनि झापा–५ मा एमाले धेरै बलियो देखिन्छ । स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतलाई हेर्दा एमालेले सबै दलले भन्दा बढी मत पाएको छ । वडाअध्यक्षतर्फ एमालेले ४१ हजार बढी मत पाउँदा गठबन्धनले ३४ हजार ६६९ मात्रै मत पाएको छ ।

प्रचण्डलाई गठबन्धनको भर

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी क्षेत्र फेरिरहने नेताका रुपमा स्थापित छन् । २०६४ देखि यता भएका तीन वटा निर्वाचनमा प्रचण्डले चार निर्वाचन क्षेत्र फेरिसकेका छन् । यसपटक भने प्रचण्डले चितवन–३ बाटै निर्वाचन लड्ने बताएका छन् ।

२०७४ मा भएको निर्वाचनमा चितवन–३ बाट चुनाव जितेका प्रचण्डले राप्रपा–कांग्रेसका विक्रम पाण्डेलाई ९ हजार बढी मतले हराएका थिए । ०७४ को निर्वाचनमा प्रचण्डले ४८ हजार २६९ मत ल्याउँदा पाण्डेले ३८ हजार ९४२ मत ल्याएका थिए । ०७४ को निर्वाचनमा एमालेको साथ पाएर चुनाव लडेका प्रचण्ड यसपटक पाँच दलीय गठबन्धनको सहयोगमा चुनाव लड्ने तयारीमा छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनकै सहयोगमा चुनाव जितेको थियो । गठबन्धन भएपनि माडी नगरपालिकामा भने माओवादी हारेको थियो ।

चितवन–३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्दछ । भरतपुरको नेतृत्वमा जितेको भएपनि माओवादी वडा तहमा भने निकै कमजोर छ । १९ वडामध्ये माओवादी केन्द्रले जम्मा ३ वटा वडा जितेको छ ।

यता, माडीको नेतृत्वमा हारेको भएपनि माओवादी वडा तहमा भने अन्य दलभन्दा बलियो देखिन्छ । तथापी, समग्र चितवन–३ मा माओवादी केन्द्रभन्दा कांग्रेस र एमाले बलियो छ । यसरी हेर्दा, प्रचण्डलाई गठबन्धनको सहयोग बिना चुनाव जित्न कठिन छ ।

चुनावी क्षेत्र फेर्ने तयारीमा माधव

२०७४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं–२ बाट चुनाव लडेका थिए । उनले काठमाडौं–२ बाट कांग्रेसका दीपकप्रकाश कुँइकेललाई १२ हजार ३६३ मतान्तरले हराएका थिए । नेपालले २७ हजार २६६ मत ल्याउँदा कुँइकेलले १४ हजार ९०३ मत ल्याएका थिए ।

तत्कालिन समय एमालेको तर्फबाट उम्मेदवार बनेका माधव अहिले भने एमाले विभाजन गरेर बेग्लै पार्टीको नेतृत्वमा छन् । बेग्लै पार्टी गठन गरेसँगै यसपटक अध्यक्ष नेपालका लागि काठमाडौं–२ सहज छैन । जसको कारण उनले सहज हुने क्षेत्र रोजीरहेका छन् ।

अध्यक्ष नेपाल यसपटक रौतहट–१ बाट चुनाव लड्ने तयारीमा छन् । रौतहट एक उनको गृह क्षेत्र भएको कारण पनि उनका लागि सहज मानिएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई हेर्दा रौतहट–१ मा एकीकृत समाजवादी सबैभन्दा बलियो पार्टीका रुपमा मानिन्छ । रौटहट–१ भित्र गौर, राजदेवी, माधवनारायण नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिका तथा गढीमाई नगरपालिकाका ३ वडा र गरुडा नगरपालिकाको १ वडा पर्दछन् । रौतहट–१ मा सबै पार्टीले जितेका वडा र एकीकृत समाजवादीले जितेको वडा करिब बराबरी छ । यसरी हेर्दा रौटहट–१ अध्यक्ष माधव निम्ति निकै सुरक्षित देखिन्छ ।

गठबन्धनकै आश छ झलनाथलाई

२०७४ मा भएको निर्वाचनमा झलनाथ खनाल इलाम–१ बाट प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर बढी मतले विजयी भएका थिए । २०७४ मा भएको निर्वाचनमा झलनाथले ३६ हजार ८०५ मत ल्याउँदा कांग्रेसका भुपेन्द्र कट्टेलले १७ हजार १६७ मत ल्याएका थिए । तत्कालिन समय एउटै एमाले र वाम गठबन्धनभित्रका दलहरुको सिंगो मत खनालले पाएका थिए ।

तर, यसपटकको निर्वाचन भने खनालका लागि केही जटिल छ । खनालको निर्वाचन क्षेत्रमा सूर्योदयन गरपालिका र रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका तथा इलाम नगरपालिकाको वडा नम्बर १० र माई नगरपालिकाका ७ वडा गरी ३९ वडा पर्दछन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ३९ वडामध्ये कांग्रेसले १६, एमालेले १५, एकीकृत समाजवादीले ६ र अन्यले २ वडा जितेका थिए । पाएको मतलाई हेर्दा पनि खनालको पार्टीभन्दा एमाले र कांग्रेस धेरै अगाडि छन् । जसलाई आधार मान्दा खनाललाई गठबन्धन बिना जित्न निकै कठिन देखिन्छ ।

मुस्किलमा बाबुराम, कांग्रेस र माओवादीकै आश

नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका निम्ति आगामी चुनाव निकै कठोर हुने देखिन्छ । एक पछि अर्को गर्दै पार्टी फेरिरहेका भट्टराई आधार क्षेत्र बिहीन जस्तै देखिन्छन् । २०७४ सालको निर्वाचनमा कांग्रेसको सहयोगमा भट्टराई गोरखा–२ बाट विजयी भएका थिए । तत्कालिन समय भट्टराईले ३१ हजार ८०७ मत ल्याउँदा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत ल्याएका थिए ।

तर, यसपटक भट्टराईको चुनावी क्षेत्रमा उनको आधार निकै कमजोर छ । स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा भट्टराई आबद्ध पार्टीको हैसियत असाध्यै कमजोर देखिन्छ । स्थानीय निर्वाचनको घोषणाभएसँगै भट्टराई निरन्तर आफ्नो चुनावी क्षेत्रका खटिएका थिए । तर उनको निर्वाचन क्षेत्रमा पर्ने पालिकाको नेतृत्व मात्रै नभई वडाहरुमा पनि उनी आबद्ध पार्टीले नराम्रो हार व्यहोर्‍यो ।

गोरखा–२ भित्र पालुङटार नगरपालिकाका १० वटा वडा, सिरानचोक गाउँपालिकाका ८ वडा, अजिरकोट गाउँपालिकाका ५ वडा, बारपाक सुलिकोट गाउँपालिकाका ८ वडा र गोरखा नगरपालिकाका ७ वडा गरी ३८ वडा पर्दछन् । तर, जसमा तत्कालिन समय भट्टराई आबद्ध पार्टीले जम्मा ३ वटा वडा जितेको छ । गोरखा–२ भित्र पर्ने ३८ वडामध्ये माओवादी केन्द्रले १८ र कांग्रेसले १७ वडा जितेका छन् । वडा अध्यक्षले पाएको मतको हिसाबमा माओवादी केन्द्रले २१ हजार ८५५ मत पाउँदा जसपा ७ हजारमा सिमित छ ।

यसपटकको निर्वाचनमा भट्टराईलाई कांग्रेस वा माओवादीले सहयोग नगरेमा चुनाव जित्न कठिन हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ