काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको संख्या बढाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पदाधिकारीको संख्या थप्ने अनौपचारिक निर्णय गरेको हो । नेताहरुबीच २१ सदस्यीय पदाधिकारी बनाउने मोटामोटी सहमति भएको एक नेताले बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ निकट एक नेताले बताएअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एक/एक जना रहने गरि अन्य पदमा संख्या बढाउने निर्णय गरेको हो । बैठकले उपमहासचिवको संख्या ७ र सचिवको संख्या ९ बनाउने निर्णय गरेको छ ।
मुख्यतः महासचिव पदमा किचलो देखिएका बेला प्रचण्डले नेताहरुको व्यवस्थापनका निम्ति नयाँ विकल्प प्रस्तुत गरेका हुन् । महासचिवमा दाबेदारी गर्ने अधिकांशलाई उपमहासचिव बनाउने तयारी प्रचण्डले गरेका छन् ।
साउन ३१ देखि बसेको स्थायी समिति बैठकले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिलाई पूर्णंता दिइसकेको छ । शनिबार बस्ने स्थायी समिति बैठकले पदाधिकारीबारे निर्णय लिनेछ । अध्यक्ष प्रचण्डले शनिबारको बैठकमा पदाधिकारीको नाम प्रस्तुत गर्ने सम्भावना छ ।
सम्बन्धित समाचार
वि.सं.२०७९ भदौ ३ शुक्रवार १५:०४ मा प्रकाशित






























