पाल्पा । नेकपा एमाले पाल्पाका नेता अशोक कुमार शाहीसहितका नेताहरु मधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।
तानसेन नगरपालिकाका निर्वतमान नगरप्रमुख समेत रहेका नेता शाही, नगर उपप्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरु नेकपा एसमा प्रवेश गरेका हुन् ।
नेकपा(एमाले) को नवौं महाधिवेसनले पारित गरेको राजनीतिक कार्यदिशा विपरित पार्टीको माथिदेखि तलसम्म स्वेच्छाचारी र व्यक्तिवादी ढंगले नेतृत्व चल्न थालेको आरोप लगाउँदै पार्टीका नीति, सिद्धान्त, विचार र पद्दती कुल्चीने काम भएको आरोप उनीहरुको छ ।
‘नेतृत्वमा रहनेहरुको अदूरदर्शिता र गलत रवैयाका कारण विगतमा वामपन्थी आन्दोलनले विभिन्न आरोह अवरोध पार गर्दै अघि बढेको कुरा हामीले स्मरण गर्न आवश्यक छ,’ उनीहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नागरिकले विश्वास गरेकै कारण दुईतिहाइ जनमत प्राप्त उपलव्धिलाई जोगाउन नसक्नु दुई–दुई पटक संसद विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनःस्थापना गर्दा पनि पार्टी भित्र समीक्षा गर्न तयार नहुनु संविधान विरोधी गैर मार्क्सवादी चिन्तन र गुटस्वार्थ मुख्य कारण हो भन्ने आम ठम्याईलाई बेवास्ता र त्यसको असरप्रति नेतृत्व तहमा संवेदनशिलता नदेखिनु दुःखद पक्ष हो ।’
एमाले परित्याग गर्नेमा तानसेनका पूर्वमेयर शाही, पूर्वउपमेयर पाठक तथा नेताहरू भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे रहेका छन् ।
यस्तो छ संयुक्त विज्ञप्ति
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको वर्षौपछि पनि नेपाली नागरिकले जीवनमा परिवर्तनको अनुभूति गर्न नपाएको गुनासो बढ्दो छ । साच्चै भन्नुपर्दा मुलुक यतिखेर गंभीर संकटमा छ ।
भूकम्पलगायतका दैवीप्रकोप, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट जर्जर बन्न पुगेको जनजीवनको पाटो एकातिर छ भने देशको राजनीतिक बागडोर सम्हाल्ने दलहरुको आन्तरिक कलह र सत्तास्वार्थका विविध कारणबाट सिर्जित आर्थिक, सामाजिक, साँस्कृतिक दूरावस्थाले सामाजिक क्षेत्रमा नैराश्यता उत्पन्न भएको छ । राष्ट्रियता गम्भीर संकटमा छ । पुर्खाले जोगाएको स्वाभिमान र स्वतन्त्र मुलुक रहने कि नरहने भन्ने संकटापन्न अवस्थामा हामी पुगेका छौं । संविधानले अंगिकार गरेको मार्गविपरित वैचारिक मूल्य मान्यता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई तिलाञ्जली दिएर आफू वा आफ्ना आसेपासेलाई लाभ पुग्ने गरी जसरी पनि सत्तामा पुग्नुपर्ने प्रवृत्तिकै कारण यो वा त्यो बहानामा विदेशी चलखेलको ठुलो संत्रास सिर्जना भएको छ । सुशासन र नैतिकताको उपहास गर्ने काम भएको छ ।
२०४६ सालको संयुक्त जनआन्दोलन मार्फत् प्राप्त वहुदलीय प्रजातन्त्र तथा ०६२ ̷ ०६३ सालको जन आन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि राजनितिक दलहरुको गैर जिम्मेवारपन र लाचारीले गर्दा यतिखेर जनस्तरमा व्यवस्थाप्रति नै व्यापक निराशा चुलिएको छ ।
यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई दोषारोपण गरेर जनताको बहुदलीय जनवाद र माक्र्ससवादलाई नागरिकसामु साक्षी राखेर सत्तामा पुगेको पार्टी नेकपा(एमाले) भित्र आन्तरिक लोकतन्त्रको उपहास गर्दै व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने कूकर्म बढ्दै गएको र संगठन सुदृढिकरण तथा वैचारिक वहस र सुझावलाई निषेध गर्ने काम भएपछि कम्युनिष्ट पार्टी र जनसंगठनका लागि जीवन अर्पेका कार्यकर्ताहरुमा उत्साह मरेको छ । सत्तामा मात्र नभै पार्टी नेतृत्वमा समेत चाकडी र दलालीकरणलाई यो वा त्यो नामबाट संस्थागत गर्ने प्रवृत्ति हुर्कदो छ । नेकपा (एमाले) को नवौं महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा विपरित पार्टीको माथिदेखि तलसम्म स्वेच्छाचारी र व्यक्तिवादी ढंगले नेतृत्व चल्न थाल्यो। पार्टीका नीति, सिद्धान्त, विचार र पद्दती कुल्चीने काम भएको छ । नेतृत्वमा रहनेहरुको अदूरदर्शिता र गलत रवैयाका कारण विगतमा वामपन्थी आन्दोलनले विभिन्न आरोह अवरोध पार गर्दै अघि बढेको कुरा हामीले स्मरण गर्न आवश्यक छ ।
नागरिकले विश्वास गरेकै कारण दुईतिहाइ जनमत प्राप्त उपलव्धिलाई जोगाउन नसक्नु दुई÷दुई पटक संसद विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनःस्थापना गर्दा पनि पार्टीभित्र समीक्षा गर्न तयार नहुनु संविधान विरोधी गैर माक्सवादी चिन्तन र गुटस्वार्थ मुख्य कारण हो भन्ने आम ठम्याईलाई बेवास्ता र त्यसको असरप्रति नेतृत्व तहमा संवेदनशिलता नदेखिनु दुःखद पक्ष हो।
पार्टी भित्र दोहरो मापदण्ड अपनाईएका कारण पार्टीका पुराना ईमान्दार र योग्य कार्यकर्ताहरू पार्टीको मुलधारवाट अलग हुँदै जाने वाध्यात्मक परिस्थिति सिर्जना भएकोछ । संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गर्ने गतिविधिलाई प्रश्रय दिने काम भएको छ ।
यस्तो अवस्थामा हामी पञ्चायत कालदेखिनै, तत्कालीन ने.क.पा (माले) लगायतका पार्टी र जनसंगठनमा आवद्ध भई मुलुक र जनताका लागि जिन्दगी हत्केलामा राखेर क्रियाशील ने.क.पा (एमाले) सम्वद्ध पाल्पा जिल्लाबाट पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै आएका इमान्दार, माक्र्सवादप्रति प्रतिवद्ध निष्ठावान कार्यकर्ता पार्टीमा व्याप्त विसंगति र विकृति विरुद्ध मौन रहन हुँदैन भन्ने महसुस गरेका छौँ । अझैपनि अत्याचार सहनु भनेको कूकर्मलाई प्रश्रय दिनु हो । यो वा त्यो वहानामा, मनगढन्ते आरोप लगाएर जिम्मेवारी विहिन तुल्याउने तथा किनारामा पुर्याउने प्रवृत्तिको विरोधमा एकत्रित भई खवरदारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हो, हामीले पार्टी निर्माणका लागि विगतमा यो वा त्यो वहानामा धेरै अपमान सहयौ । अव हाम्रो सहने शक्तिले सीमा पार गरेको छ।
जनताको बहुदलीय जनवादको जन्तर भिर्दैमा मात्र कोही पनि शुद्ध कम्युनिष्ट हुन सक्दैन भन्ने हाम्रो ठम्याई हो । अन्याय, अत्याचार अनि दास प्रवृत्तिको सख्त विरोधमा रहेका हामी उक्त प्रवृत्तिको अन्त्य र कम्यूनिष्ट आन्दोलनको रक्षाको लागि आजका मितिबाट तपसिलका व्यक्तिहरु ने.क.पा. (एमाले)को कुनै पनि जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको स्वघोषणा गर्दछौं ।
हामी आजकै मिति देखि नेपालको कम्युनिस्ट आन्दोलनको रक्षार्थ नेकपा (एकिकृत समाजवादी)मा समाहित हुने निर्णय गरेका छौँ ।
मितिः २०७९ भदौ ४
वि.सं.२०७९ भदौ ५ आइतवार १४:१२ मा प्रकाशित




















