काठमाडौं । पदाधिकारी चयनप्रति माओवादी केन्द्रभित्र असन्तुष्टी देखिएको छ । एकातिर उपमहासचिव र सचिव पदमा गरिएको व्यवस्थापन र अर्कोतिर महिला, दलित र सुदूरपश्चिम प्रदेशलाई गरिएको उपेक्षाप्रति नेताहरुले असन्तुष्टी जनाएका छन् ।
महासचिव पदको किचलो व्यवस्थापन गर्ने नाममा अन्य पदका दाबेदारलाई पनि उपमहासचिव र सचिव बनाइएको भन्दै नेताहरुले असन्तुष्टी जनाएका छन् । नेता हरिबोल गजुरेल पदाधिकारी चयनमा संगती नमिलेको बताउँछन् ।
“आठ महिनापछि पदाधिकारी चयन भयो, यसलाई सुखद मानौं तर, निर्णयमा संगती मिलेको छैन”, गजुरेलले भनेका छन्, “समावेशिताको मर्म र पदीय मर्यादा मिलाउन सकिएन ।”
तथापी, माओवादीले चुनाव लगत्तै विशेष महाधिवेशन गर्ने भएको कारण त्यतिखेर मिलाउन पनि सकिने उनले बताएका छन् । “यो निर्णय अपूर्णं छ, यसलाई सच्याउन पर्छ”, उनले भनेका छन्, “हामीले चुनाव लगत्तै विशेष महाधिवेशनको कुरा गरेका छौं, त्यतिखेर यो मिलाएर जानैपर्छ ।”
माओवादीले पदाधिकारी चयन गर्दा महिला, सुदूरपश्चिम र दलित समूदायलाई पुरै उपेक्षा गरेको देखिन्छ । २१ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला पर्नु आधा हिस्साको प्रतिनिधित्व गर्ने महिलामाथिको अपमान नै भएको नेतृ उर्मिला अर्यालको टिप्पणी छ । उनी माओवादी नेतृहरुलाई ‘फेस सेभिङ्ग’ नै गर्न गाह्रो भएको बताउँछिन् ।
“जनयुद्धदेखि लड्दै आएका महिला नेतृहरु थुप्रै छन्, के ती पदाधिकारी हुनै नहुने हुन् त ?”, उनले प्रश्न गरेकी छिन्, “२१ जनामा एक जनालाई मात्रै राख्नु यो पुरै अपमान हो । यसरी हामीलाई फेस सेभिङ्गसमेत गर्नसमेत गाह्रो हुन्छ ।”
उनले बागलुङबाट तीन/तीन जना पदाधिकारी राख्दा थप एक जना महिलाको विषयमा नसोंच्नु दुःखद भएको बताइन् । उपमहासचिव बनेकी नेतृ पम्फा भुसालले महिलाको प्रतिनिधित्व नगरेको पनि अर्यालको आरोप छ ।
“उहाँ (पम्फा भुसाल) कमसेकम नियमित बैठकमा हुनुहुन्छ, उहाँले अडान राख्नुपथ्र्यो, उहाँ किन बोल्नुभएन ? आफैंले उठाएको नाराप्रति आफैंले धज्जी उडाउने काम भयो, यो जिम्मा लिनुपर्छ”, उनले प्रश्न गरेकी छिन्, “एउटा वडा जित्न नसक्ने बागलुङमा तीन/तीन जना सचिव किन चाहिन्छ ?”
याे पनि…
तल हैसियत छैन, केन्द्रमा भाग : तीन सचिव पाएको बागलुङमा माओवादी चौथो
वि.सं.२०७९ भदौ ५ आइतवार १८:२३ मा प्रकाशित
























