काठमाडौं । आगामी निर्वाचनमा सत्ताभित्रका माओवादी केन्द्र र एकीकृत समाजवादी र सत्ता बाहिरका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एकीकृत भएर जाने भएका छन् । चार दलले एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने तयारी गरेका छन् । दलहरुबीच निर्वाचन पछि पार्टी एकतासम्म गर्ने सहमति भइसकेको छ ।
भट्टराई नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा एकता अभियानले माओवादीको चुनाव चिन्ह नै प्रयोग गर्ने निर्णय गरेका छन् । भट्टराई र गौतमले चुनाव पछि एकता गर्ने सहमति गरेकै बखत सोमबार माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पनि चुनाव लगत्तै एकता गर्ने सहमति भएको छ । दुई दलबीच एकताका लागि संयोजन समिति बनाउने निर्णयसमेत भइसकेको छ ।
सोमबार ललितपुरको हात्तीवनस्थित एक निजी अपार्टमेन्टमा भएको बैठकमा पार्टी एकताका लागि संयोजन समिति बनाउने, निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने, दुई पार्टीबीचको विचार, राजनीति र कार्यदिशा मिलाउने र निर्वाचनमा समेत मिलेर उम्मेदवारी दिने सहमति भएको थियो ।
“पार्टी एकताको घोषणा चुनावपछि गर्ने तर, ०७४ को निर्वाचनमा जस्तै दुई पार्टीबीच एकता गर्ने भनेर जाने र त्यसका लागि एउटै चुनावी घोषणापत्र बनाउने समझदारी बनेको छ”, दुई दलबीच भएको सहमतिबारे माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भनेका छन्, “बाँकी काम एकता संयोजन समितिले गर्छ ।”
दुई पार्टीबीच पाँच/पाँच नेता रहने गरी एकता संयोजन समिति बनाउने निर्णय भएको छ । सोही समितिले नै घोषणापत्र तयारीदेखि उम्मेदवार चयन र एकताको खाका बनाउने छ ।
गत साउन ३१ को स्थायी समिति बैठकमा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय गरेको थियो । माओवादीको निर्णयपश्चात भदौ १ मा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पनि माओवादीसँग एकताका लागि संयोजन समिति निर्माण गर्ने निर्णय गरेको थियो ।
एकताका निम्ति कसरी तयार भए नेताहरु ?
गत असार अन्तिम साता दिल्ली भ्रमणमा गएका प्रचण्डले भ्रमणबाट फर्किएलगत्तै समाजवादी केन्द्र बनाउने चर्चा चलाएका थिए । उनले चुनाव अघि नै समाजवादी केन्द्रको स्वरुप बन्ने पनि बताएका थिए । प्रचण्डले सकेसम्म पार्टी एकता नै गरेर केन्द्र बनाउने नभए, मोर्चा बनाउने योजना बनाएका थिए । तर, प्रचण्डको उक्त रणनीतिले मूर्त रुप पाउन सकेन । माओवादी केन्द्रभित्रै पनि उक्त विषयमा असहमति देखियो ।
प्रचण्डले गरेको समाजवादी मोर्चा वा केन्द्र बनाउने तयारीप्रति उपेन्द्र यादवले खुलेरै विरोध गरे । आफुबाट छुट्टिएका बाबुराम प्रचण्डसँग नजिक भइरहेका बेला समाजवादी मोर्चा वा केन्द्र बनाउने तयारीप्रति यादवको विरोध देखियो । यादवसँगै एकीकृत समाजवादीभित्र पनि उक्त प्रस्तावप्रति खासै सकारात्मक जवाफ देखिएन । तर, प्रचण्डको प्रस्तावप्रति बाबुराम र वामदेव गौतम भने उत्साहित देखिए ।
तर, प्रचण्डको समाजवादी मोर्चा वा केन्द्र बनाउने योजना सेलाउँदै गइरहेको बेला पुनः सत्ताभित्र र बाहिरका वाम शक्तिहरु एकताबद्ध हुने अभियानमा देखिएका छन् । यसमा मूलतः निर्वाचनको त्रासले काम गरेको देखिन्छ । निर्वाचन पछि कसको अवस्था के हुने भन्ने अन्योल देखिएकै बेला नेताहरु एकताबद्ध भएर निर्वाचनमा होमिने तयारीमा लागेका हुन् । एकताबद्ध भएर निर्वाचनमा होमिदा नतिजा बेग्लै आउने उनीहरुको मुख्य बुझाई देखिन्छ ।
एकताभित्र कसका स्वार्थ के ?
अहिले सबै वाम शक्तिलाई निर्वाचन परिणामको त्रास देखिएको छ । मंसिरमा हुने आम निर्वाचन पछि कसको पोजिसन के हुने सबैभित्र अन्योल देखिन्छ । चुनावमा एक्लै जाँदा कतिपयको अस्तित्वमाथि नै प्रश्नसमेत खडा भएको छ ।
माओवादी केन्द्रलाई गठबन्धन नगरी हालकै हैसियत जोगाउन गाह्रो देखिन्छ भने एकीकृत समाजवादीसहितका अन्य दललाई अस्तित्व जोगाउनै चुनौति छ । एमालेबाट विभाजित भएर बनेको एसलाई निर्वाचन पछिको हैसियतले चिन्तित बनाएको छ । बाबुरामको पार्टी र वामदेवको पार्टी चुनाव पछि रहन्छ वा रहन्न भन्ने नै प्रश्न खडा भएको छ ।
अहिले मुख्यगरी चुनावको त्रासले सबैलाई एक ठाउँमा आउनलाई सहज बनाइदिएको देखिन्छ । तथापी, एकताबद्ध हुने योजनाभित्र केही निश्चित नेताका व्यक्तिगत आकांक्षा पनि जोडिएका देखिन्छन् ।
प्रचण्डमा चुनाव पछि प्रधानमन्त्री नै हुने महत्वकांक्षा पलाएको छ भने माधवकुमार नेपालभित्र एमालेलाई चुनौति दिने महत्वकांक्षा पलाएको छ । यता, बाबुराम र वामदेवलाई भने एक सिटसम्म जितेर सांसद हुने र संसदभित्र छिर्ने रहर छ ।
वि.सं.२०७९ भदौ ७ मंगलवार १३:११ मा प्रकाशित






























