काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रदेश र संघको चुनावमा गठबन्धनभित्रका वामपन्थीहरूबीच माेर्चाबन्दी हुनसक्ने बताएका छन् । कांग्रेससँगकाे चुनावी तालमेलकाे विषय पेचिलाे बन्दै गएपछि प्रचण्डले यस्ताे बताएका हुन् ।
पार्टीकाे बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनभित्रकै वामपन्थी दलहरुबीच मोर्चाबन्दी हुनसक्ने बताए । आफूहरुको पहिलो प्राथमिकता कांग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे । यदि कांग्रेस तालमेलमा सीट संख्या मिलाउने सवालमा कन्जुसाइ गरे विचार मिल्ने गठबन्धनभित्रका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जाने बताएका हुन् ।
‘यो चुनावमा सकेसम्म काँग्रेसको तालमेल छुटाउँदैनौ । हामी यो गठबन्धनबाट बाहिर जाने पक्षमा छैनौ’ प्रचण्डको भनाई उदृत गर्दै शर्माले भने, ‘यदि कांग्रेसले निहुँ खोज्यो भने सीट संख्यामा कुरा मिल्दै मिलेन भनेपनि गठबन्धनभित्रकै वामपन्थीहरु बीच तालमेल मोर्चाबन्दी बनाउने छौ । त्यसरी चुनावमा जाँदा पनि हामीले राम्रै नतिजा ल्याउनेगरी तयारी गरेका छौ ।’
वामपन्थी दलहरुबीच पार्टी एकता गर्न संयोजन समिति बनिसकेकाले बलियो कम्युनिस्ट शक्ति बन्ने सम्भावना देखिएको प्रचण्डले प्रष्ट पारे । माओवादीको पछिल्लो समय आइडेन्टेटीको समस्या भएको विषयमा समेत प्रचण्डले गुनासो गरेका छन् ।
‘हाम्रो आफ्नै खालको आइडेन्टेटी छ । आफ्नै एजेण्डा छन् । त्यसलाई कसैले मेटाउन चाहेपनि मेटाउन सक्दैन’ प्रचण्डले भने, ‘हाम्रो व्यवहारका कारण आइडेन्टेटी खतरामा पर्ने देखिएको छ ।’ माओवादीले देशको नेतृत्व गर्ने सपना देखेकाले व्यवहार र कार्यशैली रुपान्तरण गर्नुपर्ने प्रचण्डले बताए ।
वि.सं.२०७९ भदौ १२ आइतवार १७:५९ मा प्रकाशित






























