काठमाडौं । सरकारले भोलि (शनिबार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
मन्त्रिपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए।
यसअघि संसदको कार्यकाल कहिलेसम्म रहने भन्ने विषयमा विवाद थियो। सत्तापक्षले अर्को निर्वाचन भएर निर्वाचित संसदको पहिलो बैठक नबस्दा सम्म यही संसदको कार्यकाल रहने पक्षमा वकालत गर्दै आएको थियो भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघिल्लो दिन नै कार्यकाल सकिनुपर्ने बताउँदै आएको थियो ।
यसबीच सरकारले कानुन नै संशोधन गर्न संसदमा विधेयकसमेत लगेको थियो । तर, चौतर्फी विरोध भएपछि सरकार कार्यकाल तोक्न बाध्य भएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गतेको समय तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्था छ ।
वि.सं.२०७९ भदौ ३१ शुक्रवार १६:४८ मा प्रकाशित






























