काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको सन्दर्भमा सत्ता गठबन्धनबारे विज्ञप्ति जारी गर्ने भएको छ । भण्डारीको पछिल्लो कदमबारे छलफल गर्न बालुवाटारमा जम्मा भएका सत्ता साझेदार दलहरुले यस्तो निर्णय गरेका हुन् ।
गठबन्धनले राष्ट्रपतिको कदम संविधान विपरित भएको निष्कर्ष पनि निकालेको छ । बैठकमा सहभागि माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपतिको कदमबारे विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरिने बताए ।
“राष्ट्रपतिको कदम संविधान र संसदीय मर्यादा विपरित छ”, पुनले भनेका छन्, “राष्ट्रपतिको कदमका विषयमा गठबन्धनले विज्ञप्तिमार्फत धारणा स्पष्ट पार्छ ।”
संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पारित गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपति कार्यालयले संसदको कार्यकाल सकिएको भन्दै विधेयक पनि स्वतः निष्क्रिय भएको निष्कर्ष निकालेको थियो ।
प्रतिनिधिसभाले गत भदौ २० मा प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पठाएको थियो । मंसिर ४ मा तय भएको चुनावको कारण प्रतिनिधिसभाको कार्यकाल असोज १ देखि सकिएको थियो ।
वि.सं.२०७९ असोज ५ बुधवार १२:०७ मा प्रकाशित






























