काठमाडौं । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाग्लुङ १ बाट सुर्यप्रसाद पाठकले निकै सानदार मतसहित जित हात पारेका थिए । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पाठकले कांग्रेस उम्मेदवारलाई १३ हजार बढी मतले हराएका थिए ।
तत्कालिन समय पाठकलाई जिताउन माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता कस्सिएर लागेका थिए । तत्कालिन निर्वाचनमा पाठकलाई जिताउन जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि घरदैलो अभियानमा थिए ।
तर, अहिले राजनीतिक समिकरण फेरिएको भएको छ । हिजो जिताउन लागेका केसी र जितेका पाठक नै अहिले बागलुङ १बाट चुनावी प्रतिस्पर्धामा छन् ।
एमालेका पाठक एकातिर भइरहँदा केसी बाम–लोकतान्त्रिक गठबन्धनको सहयोगमा चुनावमा छन् । निष्ठावान नेताको परिचय बनाएका ८० वर्षीया केसी र युवाको बीच लोकप्रिय बनेका ४६ वर्षीया पाठकबीचको प्रतिस्र्धा कस्तो होला ? निकै चासोपूर्वक हेरिएको छ ।
केसी यसअघि बागलुङ क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका थिए । बागलुङ २ मा स्थायी घर भएका केसी २०५६ र २०६४ मा प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७० मा समानुपातिकबाट संसद छिरेका थिए । २०७४ मा भने जनमोर्चाले ३ प्रतिशत थ्रेसहोल्ड नकटाउँदा उनको संसद छिर्ने यात्रा सफल भएन । यता, पाठक भने २०७४ मा पहिलो पटक बाम गठबन्धनको सहयोगमा संसद छिरेका थिए ।
वयोवृद्ध केसीको सायद यो अन्तिम चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उनी स्वयम्ले पनि आगामी समय उम्मेदवार नबन्ने बताएका छन् । ८० वर्षीया वयोवृद्ध केसी र थप सम्भावना बोकेका ४६ वर्षीया पाठकमा कसले बाजी मार्ला ?
अंकगणितमा केसी बलिया
कुन उम्मेदवार बलिया भन्ने सन्दर्भमा तीन पक्षलाई केलाउन आवश्यक देखिन्छ । २०७४ को चुनावी नतिजा, २०७९ को स्थानीय निर्वाचन र उम्मेदवारको लोकप्रियता । बागलुङ १ बाम पार्टीहरुका लागि उर्वर क्षेत्र हो । २०७४ को निर्वाचनमा एमालेले प्रतिनिधिसभा सदस्य र १ (क)बाट प्रदेशसभा सदस्य जित्दा जनमोर्चाले पनि १ (ख)बाट प्रदेशसभा सदस्य जितेको थियो । सबै क्षेत्रमा कांग्रेससँगको मतान्तर बलियो थियो । २०७४को नतिजा केलाउँदा एमाले अन्यभन्दा धेरै बलशाली देखिन्थ्यो ।
तर, यसपटक समीकरण बेग्लै बनेको छ । गठबन्धन राजनीतिकै कारण एमाले कमजोर बन्दै गएको छ भने कांग्रेस बलियो हुँदै गएको छ । गठबन्धन गरेकै कारण राष्ट्रिय जनमोर्चा केही बलशाली बनेको छ ।
स्थानीय चुनावको नतिजाअनुसार ३७ वडामध्ये गठबन्धनले २९ वडा जितेको थियो भने एमाले ८ वडामा सिमित भएको थियो । बागलुङ १ मा गठबन्धनले पाएको मत ३१ हजार ६ सय ३७ छ भने एमालेले २२ हजार ३७६ मत पाएको छ । मतलाई हेर्दा नौ हजार २ सय ६१ मतले गठबन्धन अगाडि देखिन्छ । गठबन्धनको इमानदार साथ पाए केसीलाई जित्न सहज हुनेछ भने गठबन्धनभित्र विग्रह आए पाठकलाई जित्न सहज हुनेछ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार १४:५८ मा प्रकाशित
























