काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चारवटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र पुर्याउने काम सम्पन्न गरिएको हो ।
आयोगले बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी गरेसँगै चारवटा प्रदेशको मतपत्र ढुवानी कार्य सम्पन्न भएको हो ।
शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी शुरु गरिने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी भइसकेको हो ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ । शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने आयोगले जनाएको छ ।
कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्रसमेत पुग्ने बताइएको छ ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १६:२९ मा प्रकाशित






























