
इलाम । पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछि परेको इलाम २ मा मतगणना रोकिएको छ । अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।
यहाँ एमालेका नेम्वाङ्ग र कांग्रेसका डम्बरबहादुर खड्काबीच सुरुदेखि नै कडा प्रतिस्पर्धा छ । थोरै मतले कहिले खड्का अगाडि त कहिले नेम्वाङ अगाडि छन् ।
इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् । तर, मतपत्र हराउनुु र केही मतपत्रमा हस्ताक्षर नभएपछि विवाद उब्जिएको हो । गणनास्थलमा अहिले कांग्रेस समर्थकले नाराबाजीसमेत गरिरहेका छन् । गणनास्थलमा सुरक्षाकर्मी बढाइएको छ ।
मत गणना रोकिएको इलाम नगरपालिकाको वडा नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिकाप्रसाद गौतमलाई ५९ मतले पराजित गरेका थिए । बस्नेतले एक हजार ८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।