ब्राजिलिया । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ । अनुहार छोपेको सो व्यक्तिले सेनाको पोशाक लगाएको देखिएको छ ।
यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो शहर अराक्रुजमा सो आक्रमण भएको थियो ।
एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्वीटमा गर्दै, “सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ गरेको छ, जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो । मैले अपूरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु । हामी घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौँ र चाँडै नै निष्कर्षमा पुग्नेछौँ ।”
गभर्नरका अनुसार, “प्रिमो बिट्टी स्कूल र प्रिया डे कोक्वेरल शैक्षिक केन्द्रमा आक्रमण भएका थिए ।”
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो घटनाबारे ट्वीट गर्दै अराक्रुज विद्यालयमा भएको आक्रमणले आफु दुःखी भएको र पीडितलाई क्षतिपूर्ति दिलाउँन आग्रह गराक छन् । (रासस–एएनआई)
वि.सं.२०७९ मंसिर १० शनिवार १९:५२ मा प्रकाशित






























